डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

काठमाडाैं | असार १३, २०८१

डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

काठमाडौं:    काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ ।


नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।


“रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।


भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् ।


रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो । “पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ । यस्तो पानीमा लामुखट्टेको सङ्ख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो ।


लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताउनुभयो । “यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ”, उहाँले भन्नुभयो ।


डेङ्गुको सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । एक्कासी उच्च ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।

पोखरा:  नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ ।  यही २७ र २८ पुसका लागि म...

थप पढ्नुहोस्

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...

थप पढ्नुहोस्

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

थप पढ्नुहोस्