देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ: प्रधानमन्त्री ओली
काठमाडाैं | साउन १४, २०८१
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको बताउनुभएको हो ।
“जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ”, उहाँले भन्नुभयो । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गर्नुभयो ।
“उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु”, उहाँले भन्नुभयो, “उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।”
युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद रु ४० हजारसहित पुरस्कृत हुनुभयो ।
सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । विसं १९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उहाँकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो ।
कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गर्नुभएको थियो । समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरुले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उहाँ पाँच वर्ष जेल सजायपछि विसं २००२ मा जेलमुक्त हुनुभएको थियो । उहाँका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन् । अझै प्रकाशोन्मूख सातवटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...
मुस्ताङ: मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...

