डुबानबाट कैलालीका विभिन्न बस्ती प्रभावित
काठमाडाैं | भदौ ६, २०८१

सुदूरपश्चिम: दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् ।
जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ ।
डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालये सूचना जारी गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ ।
कटैनी, शिवगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुबानको समस्या भएको हो ।
डुबानबाट बढी प्रभावित कैलारी गाउँपालिका—५ को मनिकापुरका कतिपय घरपरिवारको खाद्यान्न लत्ताकपडालगायत समान भुइँतलाबाट माथिल्लो तल्लामा राखेर भिज्नबाट जोगाइएको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात विताएका छन् ।
डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ ।
घोडाघोडी नगरपालिका—९ मा शिवगङ्गा नदीको बहाव बस्तीमा पसेपछि भएको डुबानले महादेवा, कम्दा, भगवानपुर, शङ्करपुरलगायत क्षेत्र डुबानमा परेका छन् ।
पूर्वपश्चिम हुलाकी राजमार्गको कैलारी सडक खण्ड बस्तीको भूभागभन्दा अग्लो निर्माण गरिएको कारण पानी थुनिएर आसपासको बस्ती डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।
“पानीको निकास हुन पाउनेगरी हुलाकी सडक निर्माण गर्नुपर्नेमा त्यसो नगरिएकाले आफूहरुले बर्सेनि डुबानको समस्या झेल्नु परेको छ,” स्थानीयवासी ठाकुर चौधरीले भन्नुभयो, “पानीको निकास गरेर मात्र विकास गर्नुप¥यो ।”
गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले डुबानबाट प्रभावित हुनेहरुको वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रहरी लगाएको टोली उद्धार राहतमा जुटिरहेको बताउनुभयो ।
उहाँले गाउँपालिकामा उपलब्ध साधन स्रोतका आधारमा डुबान, कटानको समस्या समाधान गर्न नसकिने भएकाले सङ्घ र प्रदेश सरकारले नदी तटबन्धनजस्ता ठूला योजना ल्याउन जरुरी भइसकेको बताउनुभयो ।
अविरल वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेश सरकारका कतिपय मन्त्रालयलगायत सरकारी कार्यालय र सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ ।
दुई दिनदेखिको वर्षासँगै कैलालीको मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडालगायत नदी र खोलामा पानीको बहाव बढेको छ ।
डुबानका कारण विस्थापित स्थानीयवासीका लागि कैलाली जिल्लाको पूर्व—पश्चिम हुलाकी राजमार्गअन्तर्गतको केही ठाउँको सडक सुरक्षित ‘सेल्टर’ (बासस्थान) बन्दा कतिपय ठाउँको सडक भने डुबान हुने कारक पनि बनेको देखिएको स्थानीयको भनाइ छ ।
जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा विस्थापित हुने स्थानीयवासी यसै राजमार्गमा त्रिपाल टहरा बनाएर बस्ने गरेका छन् ।
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।अस...
काठमाडौं: नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...