राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना
पाल्पा | भदौ ११, २०८१

पाल्पा: राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गर्नुभएको छ । साथै उहाँ रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी हुनुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गर्नुभयो ।
रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तुलाराम घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो ।
नेपाल अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई पराजित गरेको अवसरमा भाद्र कृष्ण अष्टमीको भोलिपल्ट सिन्दूर यात्राका रुपमा रथयात्रा निकालिने परम्परा छ । विसं १८७७ देखि मनाउँदै आएको रथ यात्रा दुई सय पाँचौँ पटक मनाइँदैछ ।
तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट रथ यात्रा निकालिने परम्परा रहेको भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट यहाँ हरेक वर्ष रथ यात्रा निकालिँदै आइएको छ ।
नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा विजयउत्सव स्वरुप यहाँ हरेक वर्ष रथयात्रा निकालिँदै आइएको छ ।
नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा निकालिने परम्परा छ । यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ ।
भगवतीको मन्दिरबाट शुभ साइतमा निकालिएको भगवती जात्रा (रथ यात्रा) लाई शीतल पार्टीको मूल ढोकाबाहिर निकालेपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलि दिइने चलन छ ।
पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।
विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा (रथ यात्रा)लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिने बताइएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्दे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन मह...
काठमाडौं: मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मु...