संसदमा सांसदहरुबीच सवाल जवाफ
काठमाडाैं | भदौ १२, २०८१
तस्बिर फाइल
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबीच ‘हिंसा’ शब्दलाई लिएर सवाल जवाफ भएको छ ।
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा माओवादीको १० वर्षको ‘हिंसा’ का कारण मुलुकको प्रगति हुन नसकेको तथा जलविद्युत् आयोजना निर्माण गर्नेलाई चन्दा मागेर धम्क्याएको आरोप लगाउनुभयो ।
उहाँले प्रयोग गर्नुभएको ‘हिंसा’ भन्ने शब्दलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसदहरुले नियमापत्ति गर्नुभयो । उहाँहरुले उक्त शब्द संसदको अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो ।
सत्तापक्ष एमालेका सांसदहरुले उक्त शब्द असंसदीय नभएको भन्दै हटाउन नहुने धारणा राख्नुभयो । “मैले केही दोष दिएको हैन । अध्ययनले भन्छ कि यदी यो देशमा माओवादी हिंसा १० वर्षसम्म नभएको भए नेपालमा विद्युत् उत्पादनका क्षेत्रमा योभन्दा ठूलो क्रान्ति हुने थियो । असुरक्षाले विद्युत्मा लगानी भएन । दश वर्षको हिंसा नभएको भए २०६५ सालमै लोडसेडिङ अन्त्य हुने थियो”, सांसद भट्टराईले भन्नुभयो ।
सांसद भट्टराईले बोल्दै गर्दा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति गर्नुभयो । उहाँले सांसद भट्टराईले गैरसंसदीय शब्द बोलेको टिप्पणी गर्नुभयो । सांसद सापकोटाले नियमापत्ति जनाउदै भन्नुभयो, “संसद सञ्चालनको नियमावली विपरीत नियमापत्ति हुने गरी शब्दहरु बोल्नु हुँदैन । माननीयले गैरसंसदीय अमर्यादीत शब्द बोल्नुभएको छ ।”
सभामुख देवराज घिमिरेले हिंसा शब्दको प्रयोगबारे आफनो ध्यानार्कषण भएको उल्लेख गर्दै नियमित प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका सचिव समेत रहनु भएका सांसद देवेन्द्र पौडेलले उक्त शब्द संविधान प्रतिकुल भएको भन्दै संसदको अभिलेखबाट फिर्ता लिन सभामुख घिमिरेसमक्ष अनुरोध गर्नुभयो ।
“सत्तापक्षमा रहेर बोलिरहनु भएका माननीयलाई खबरदारी गर्न चाहन्छु । यस प्रकारका शब्दको प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने अधिकार अहिलेको संविधानले दिँदैन”, सांसद पौडेलले भन्नुभयो ।
यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै सदनमा नियमको उल्लङ्घन भइरहेको बताउनुभयो । उहाँले उक्त शब्द संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो । एमालेका सांसद रघुजी पन्तले सांसद भट्टराईले प्रयोग गर्नुभएको शब्द असंसदीय नभएको जिकिर गर्नुभयो ।
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

