युवा नहुँदा ठिनीमा मेला धान्नै मुस्किल
मुस्ताङ | भदौ १७, २०८१

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ ।
रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेलामा नाच्ने युवा नै पाउन छोडिएको हो । भदौरे मेला ठिनीवासीको प्रमुख पर्व हो ।
आइतबार सकिएको ठिनीको भदौरे मेलाका संयोजक सवी थकालीले युवा जनशक्ति नभएपछि तीन दिन मनाउने भदौरे मेला पछिल्लो केही वर्षयता दुई दिन मात्र सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो ।
“ठिनीवासीले मनाउने सबैभन्दा ठूलो पर्व भदौरे मेला हो”, उहाँले भन्नुभयो, “मेलामा देखाउने नृत्यका लागि कलाकार जनशक्तिको कमी र गाउँमा भएकाहरुको कार्यव्यस्तताले मेला अवधि छोट्याइएको हो ।”
विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरी र ज्येष्ठ नागरिकको भरमा भदौरे मेलाको याक, झाँक्री, थकोर्चेन, योद्धा, ढोङग्रीलगायत नाचलाई निरन्तरता दिइएको थकालीले बताउनुभयो ।
पहिले युवा मात्र सहभागी हुने नाचमा पछिल्लो समय पाकाका साथै किशोरावस्थाका कलाकारहरु धेरै हुुने गरेका छन् ।
यहाँ खेतीबाली लगाएर सकिएपछि फुर्सदिला भएका गाउँलेलाई मनोरञ्जन र हिउँद सुरु भएको सन्देश दिन भदौरे पर्व मनाउने चलन छ ।
तल्लो मुस्ताङका थकाली समुदायको बसोबास रहेका यी बस्तीमा जनैपूर्णिमा पर्व पछि फरक फरक तिथिमा फालो मनाउने गर्छन् । भदौरे मेलामा थकाली संस्कृतिमा आधारित मौलिक नृत्यका साथै समाज र देशमा भइरहेका विकृति, विसङ्गतिलाई ब्यङग्यमार्फत खबरदारी गर्ने चलन रहेको ठिनीको जनमुुक्ति युवा क्लबका सचिव नीरज थकालीले बताउनुभयो ।
लामाहरुबाट गुम्बामा देवीदेवताको पूजाआजाका साथै संस्कार, संस्कृति, प्रकृति, वातावरण संरक्षणसँग सम्बन्धित सन्देशमूलक नाटक प्रर्दशन हुुन्छन् ।
भदौरे मेला र मौलिक नाचहरु लोप हुन नदिन पाका पुस्ताका कलाकारबाट किशोर किशोरीहरुलाई नृत्य कला र सीप हस्तान्तरण गराउने प्रयास भइरहेको घरपझोङ–५ ठिनीका वडा अध्यक्ष प्रदिप थकालीले बताउनुभयो ।
भदौरे मेला अवलोकनका लागि ठिनीमा देशका विभिन्न ठाउँका साथै विदेशी पर्यटकहरु पनि आउने गरेका छन् । पृथक भूगोल, ताल तलैया, गुम्बा, गुफालगायत प्राकृतिक, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनीबाहेक मौलिक कला, संस्कृति र मेला पर्वहरु पनि मुस्ताङमा पर्यटक भित्र्याउने माध्यम हुन् ।
पोखरा: पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् । पोखरा–३ नदिप...
रसुवा: नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भ...
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमा...