मसानघाट नै अतिक्रमणमा

बाग्लुङ | भदौ २६, २०८१

मसानघाट नै अतिक्रमणमा

बागलुङ (ढोरपाटन):    मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । 

    
कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन् । तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ । 


खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट नै पुरिएका छन् । वर्षौँ अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा हिजोआज कतै खेत बनेका छन् त कतै घर तथा भवन बनेका छन् । 

    
डेढ दशक अगाडिसम्म सुनसान रहेको गलकोट नगरपालिकास्थित दरमखोला र गौदीखोला किनारमा पनि ठूलो बस्ती बसेको छ । गलकोटको हटिया बजार पनि खोला किनारमै बनेको छ । गौदीखोला किनारमा हटिया, नरेठाँटीसहितका बस्ती छन् । 


पहिले गौदीखोला र दरमखोला किनारका थुप्रै स्थानमा रहेका दाहसंस्कार गरिने ठाउँ अचेल अतिक्रमणमा परेका गलकोट नगरपालिका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुहुन्छ । उहाँकानुसार कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले त कतिपय व्यक्तिगत संरचनाले गर्दा मासिएको हुन् । 
    

प्रवक्ता भण्डारीले भन्नुभयो, “पहिले हटिया बजार छेउमा दाहसंस्कार गर्ने ठाउँ थियो, अहिले बजार बस्यो । पहिलेका धेरै ठाउँ सार्वजनिक ठाउँ अतिक्रमण भएका छन्, त्यसमा मसानघाटसमेत बाँकी नरहनु दुःखको विषय हो । 


यसैले नगरपालिकाले अतिक्रण रोक्नका लागि निरन्तर प्रयास गरिरहेका छ ।” प्रवक्ता भण्डारीले हाल नगरपालिकाका विभिन्न १० स्थानमा व्यवस्थित मसानघाट बनाइएको जानकारी दिनुभयो । 


निसीखोला गाउँपालिका पूर्णबहादुर क्षेत्रीले मसानघाट रहेका स्थानमा व्यक्तिगत तथा अन्य संरचना निर्माण गरिँदा समस्या भएको गुनासो गर्नुभयो । “निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेत बनेका छन् । 


कतिपय ठाउँमा सडक, सार्वजनिक तथा व्यक्तिगत संरचना बनेका छन् । मान्छेले आफ्नो अन्तिम गन्तव्यस्थानसमेत बाँकी नछोड्न जस्तो लाजमर्दो कुरा अरू के होला !”, उहाँको कथन छ । 

 
निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण र केही बाढीले बगाउँदा समस्या देखिएको बताउनुभयो । गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको र अतिक्रमित अन्य ठाउँ खाली गर्ने विषयमा पनि आवश्यक तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 


सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले मसानघाटसहित सार्वजनिक जग्गा अतिक्रण भएको मौखिक गुनासो सुनिए पनि उजुरी नआउँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताउनुभयो । उहाँले जिल्लाका १० वटै पालिकामा अक्रिमण भएका जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरे पनि उपलब्ध हुन नसकेको जानकारी दिनुभयो । 


“धेरै ठाउँका नदी किनारमा  सार्वजनिक जग्गा अतिक्रमण भएको देखिन्छ तर कसैले पनि लिखित रूपमा उजुरी गरेको अवस्था छैन । त्यसैले कारबाही प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ”, सहायक प्रजिअ बरालले भन्नुभयो, “उजुरी आउनेवित्तिकै नाप जाँच गरी सार्वजनिक जग्गा फिर्ता लिने काम अगाडि बढाउछौँ ।”

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...

थप पढ्नुहोस्

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

थप पढ्नुहोस्