घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा
तनहुँ | असार २९, २०७९
तनहुँ : भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।
प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ । भानुभक्त मामाघर मानहुँ ९हालको व्यास–५० मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने महान् विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गर्नुभएको थियो
भर्जन्म घाँसतिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो ।
हाल कुवा रहेको पारीपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती छ । कुवाको नजिक पन्थ बस्ती रहेकाले पन्थ नै घाँसी भएको अनुमान गर्न सकिने भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताउनुभयो ।
पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत स्थानमा रहेको बुल्दी खोला किनारको भागलाई उठाएर समथर बनाएर संरक्षण गर्न सकिने विकल्पबारे स्थानीयवासीले सुझाव दिँदै आएका छन् । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा ऐतिहासिक कुवाको अस्तित्व मेटिने हुँदा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने व्यास नगरपालिका–११ पोल्याङ घाँसीकुवा निवासी भोजराज पन्थले बताउनुभयो । “जिजुबाजेदेखि जोगाउँदै आएको सम्पदा हो”, उहाँले भन्नुभयो, “भत्काएर इतिहास मेट्न हुँदैन, संरक्षणमा लाग्नुपर्छ ।”
घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरी दिँदा पहिचानमा कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउनुहुन्छ । हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय बासिन्दाले भानुघाँसी उद्यान बनाउन दिने निर्णयसमेत भएको समितिका सदस्य प्रेम पन्थले जानकारी दिनुभयो ।
घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई व्यास–१२ कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । कुवा नरहे भानुभक्तको पहिचानमा असर पर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने घाँसीकुवामा चमेनागृह सञ्चालन गर्दैआउनुभएकी लीलावती पन्थले बताउनुभयो ।
उक्त कुवा र उद्यान संरक्षणका लागि तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । चिनीयाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टो पुर्ने कार्य गरिरहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पूरा हुने गरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ ।
मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालेको छ । सो कम्पनीले सडक फराकिलो गर्न रु ६ अर्ब १४ करोडमा ठेक्का सम्झौता गरेको हो
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

