जोमसोम बसपार्क सञ्चालन
म्याग्दी | असोज ३, २०८१
म्याग्दी: अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ ।
विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो ।
यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारीसाधन पार्किङ गर्दा जोमसोम बजार अस्तव्यस्त बन्नाका साथै दुर्घटनाको जोखिम बढेको थियो ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बजारभित्रका यातायात कम्पनीका टिकट काउन्टर हटाएर लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमा पार्किङ गराउन थालिएको जानकारी दिनुभयो ।
“पहिलो चरणमा सार्वजनिक यातायातका साधनहरु बसपार्कभित्र पार्किङ गराउने र छुटाउने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष लालचनले भन्नुभयो, “बजारभित्र यात्रु चढाउने र ओराल्ने गरी निजी तथा पर्यटक सवारीसाधनलाई पनि अनिवार्य बसपार्कको प्रयोग गर्नुपर्ने नियम लागू गराएका छौँ ।”
गाउँपालिकाले प्रतिस्पर्धामार्फत जोमसोमका सुरेश थकालीलाई रु २० लाखमा एक वर्षका लागि बसपार्क सञ्चालन र व्यवस्थापन गर्न ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । सिसिटिभी क्यामेरा जडान गरिएको बसपार्कमा सुरक्षाको व्यवस्था तथा टिकट काउन्टरको सहज पहुँचको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
जोमसोमको प्रवेशद्वारस्थित एक्लेभट्टीमा घरपझोङ गाउँपालिकाले रु ४८ लाख खर्च गरेर निर्माण गरेको बसपार्कमा करिब एक सय बस, जिप, ट्याक्सी अटाउन सक्ने क्षमता छ ।
सहरी विकास तथा भवन आयोजना बागलुङले रु दुई करोड ५० लाखको लागतमा जोमसोमबाट ठिनी र कागबेनीतर्फ जाने सडकको चोकमा निर्माण गरेको बसपार्कमा एक सय ५० सवारीसाधन पार्किङ गर्न सकिन्छ ।
विसं २०७३ मा निर्माण सुरु भएको यो बसपार्क विसं २०७९ मा सम्पन्न भई गत वर्ष गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । रु ३० लाख लगानी गरेर बसपार्कमा थप पूर्वाधार विस्तार र मर्मत गरी सञ्चालनमा ल्याइएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताउनुभयो ।
बसपार्क प्रयोग गरेबापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा रु २५, हलुका सवारीसाधनलाई रु १५ र मोटरसाइकललाई रु १० का दरले पार्किङ शुल्क तोकिएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...
काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपा...

