विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव
तनहुँ | असोज ६, २०८१

तनहुँ: विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पर्यटन दिवसका अवसरमा बन्दीपुर आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।” उहाँका अनुसार त्यस दिन बन्दीपुरका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । बन्दीपुरमा अब पर्यटकको याम सुरु हुन लागेकाले यहाँका व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उहाँको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमले टेवा मिल्ने उल्लेख गर्नुभयो ।
थापाले भन्नुभयो, “गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ भाषामा सामग्री तयार गरिसकेको छ ।” गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ ।
खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।
बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
रसुवा: नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएक...
म्याग्दी: म्याग्दी-म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा र...
पोखरा: गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ । त्...