दुई सय वर्ष पुरानो रानीपौवाको धर्मशाला जीर्ण
म्याग्दी | असोज १५, २०८१
म्याग्दी: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन ।
तीर्थयात्रामा जाँदा खाने र बस्ने सामानसँगै लैजानुपर्दथ्यो । दिनभरि पैदलयात्रा गर्ने तीर्थयात्री साँझ–बिहान धर्मशालामा खाना पकाएर खाने र बस्ने गर्दथे ।
तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले आफ्नी रानीको इच्छाअनुसार विसं १८६३ मा मुक्तिनाथ मन्दिर नजिकै धर्मशाला बनाउन लगाउनुभएको थियो ।
रानीको नामबाट धर्मशाला निर्माण भएकाले सो ठाउँ रानीपौवाको नामले परिचय बनाएको छ । राजा गिर्वाणयुद्धले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका वसन्त बोगटीलाई मुक्तिनाथमा धर्मशाला निर्माणको जिम्मेवारी दिनुभएको थियो ।
बोगटीले पर्वतको कुश्मा नजिकैको छमर्केको जङ्गलबाट सालको काठ म्याग्दीको हिस्तान घराम्दीका भरिया लगाएर मुक्तिनाथ लैजानुभएको इतिहास छ । रानीपौवा निर्माण गर्ने जिम्मेवारी पूरा गरेबापत गिर्वाणयुद्धले वसन्त बोगटीलाई म्याग्दीको राखु पिप्लेमा तीन सय एक रोपनी जग्गा बक्सिस दिनुभएको थियो ।
सो जग्गामा तुलफूल लगाएर मुक्तिनाथ जाने आउने तीर्थयात्रीलाई खुवाउने र उत्पादित खाद्यान्न हरेक वर्षको जेष्ठी पूर्णिमाका गायत्री मन्दिरमा साधुसन्तलाई भोजन गराउने चलन अझै पनि छ ।
दुई सय १८ वर्षअघि ढुङ्गा, माटो र काठको प्रयोग गरेर निर्माण भएको दुईतले सो धर्मशालामा दैनिक पाँच सय जना बास बस्न सक्ने क्षमता रहेको हेरचाहकर्ता गोविन्द आचार्यले बताउनुभयो ।
“होटलमा बस्न सक्ने क्षमता र इच्छा नभएका तीर्थयात्रीहरू अझै पनि धर्मशालामा बास बस्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “मर्मत अभावका कारण धर्मशालाको भवनमा पानी चुहिन थालेपछि समस्या भएको छ ।” बडादसैँ र चैतेदसैँको सोह्र श्राद्धको समयमा तीर्थयात्रीको धर्मशालामा भीड हुन्छ । अन्य समयमा साधुहरूले धर्मशालामा आश्रय लिन्छन् ।
पानी धेरै पर्न थालेकाले माटोको छाना चुहिन थालेको र विसं २०७२ को भूकम्पले पर्खाल चर्किएकाले धर्मशालाको भवन जीर्ण बनेको आचार्यले बताउनुभयो । रानीपौवाको धर्मशालामा गत भदौसम्म प्रहरी चौकी पनि थियो । नयाँ भवन निर्माण भएपछि प्रहरी चौकीको कार्यालय धर्मशालाबाट सारिएको छ ।
स्वामी कमलनयनाचार्यले संरक्षण गर्नुभएको धर्मशालामा निःशुल्क भोजन र आवास सुविधा छ । मुक्तिनाथ र दामोदरकुण्डका तीर्थयात्रीका लागि दाताबाट दाल, चामल, तरकारी सहयोग जुटाएर मुस्ताङको रानीपौवाको साथै यारा, कागबेनी, जोमसोम, म्याग्दीको गलेश्वर, बागलुङको कुडुले, पञ्चकोट, पोखराको रामघाट, नवलपुरको त्रिवेणी र काठमाडौँमा धर्मशाला सञ्चालन भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले रानीपौवाको धर्मशाला मर्मतका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ९० लाख बजेट प्राप्त भएको बताउनुभयो ।
सो बजेटबाट धर्मशालाको ऐतिहासिक र मौलिकता ननासिने गरी मर्मतको काम गर्ने तयारी भएको उहाँले बताउनुभयो । माटोको छानोमाथि जस्तापाता राख्ने र पानी चुहिनबाट बचाउने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

