सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
काठमाडाैं | असोज १८, २०८१
काठमाडौं: सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिनुभयो ।
मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको जनाएको छ । चीन सरकारले मिति तय गरेपछि दुई देशबीच निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
स्वीकृत सम्झौतापत्र प्रस्तावका रुपमा परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट चीनलाई पठाइसकेकाले चीनको जवाफ प्राप्त हुनासाथ औपचारिक रूपमा द्विपक्षीय सम्झौता हुने सहप्रवक्ता बोहराले बताउनुभयो ।
सहप्रवक्ता बोहराका अनुसार गत वर्ष असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका क्रममा गर्नुभएको सम्झौतामध्ये ‘कुक्ड बफेलो मिट’ चीन निर्यात गर्ने विषय पनि समावेश थियो । सम्झौतापश्चात् चीनको ‘जनरल एडमिनिस्ट्रेशन अफ कस्टम’ले नेपाललाई मासु उत्पादनमा जोखिम विश्लेषणसम्बन्धी कागजात पठाएको थियो ।
उक्त सहमतिलाई कार्यान्वयन तहमा लैजान मन्त्रालयले आवश्यक सम्झौतापत्र तयार पारेर चीन पठाएको हो । चीन भन्सारको सामान्य प्रशासन (जिएसिसी) ले मासुसहित १८ खाद्य वस्तु आयातसम्बन्धी नीतिनियम छ ।
जिएसिसीले मासु आयातका लागि भैँसी रोगमुक्त हुनुपर्ने, खाद्य, स्वच्छतासहित नेपाली हावापानीमा उत्पादन हुनुपर्ने, ३० महिना मुनिको भैँसी हुनुपर्ने, ‘बध’ गर्दा सरकारले तोकेको मापदण्ड पालना गरेको हुनुपर्नेलगायत नियम बनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियम पालना गरी नेपालले मासु निर्यात गर्नुपर्नेछ ।
मन्त्रालयले मासु निर्यात गर्न मधेस प्रदेश, बागमती प्रदेश र लुम्बनी प्रदेशका केही जिल्लालाई भैँसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेको छ ।
मन्त्रालयले त्यस क्षेत्रमा मासुका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पूर्वाधार विकास गर्ने तथा केही उद्यमीलाई भैँसीपालनको अनुमति प्रदान गरेको छ । उक्त सम्झौताअनुसार मासु निर्यात भएपछि चीनसँग व्यापारघाटा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...

