भृकुटीमण्डपको आगालागी ‘शंकास्पद’
काठमाडाैं | साउन १, २०७९
काठमाडौँ: काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदामघरमा आगलागी भएको चार दिन बित्यो । तर आगलागीका कारण र क्षतिका विवरण यकिन हुन सकेको छैन । आगलागी बुधबार दिउँसो भएको थियो । बुधबार आगलागी नियन्त्रणमा आएको पनि थियो तर बिहीबार फेरि सोही स्थानमा आगलागी भएको थियो ।
समाज कल्याण परिषद् स्थापना हुँदा अर्थात् २०४३ देखिका महत्वपूर्ण दस्तावेज, विभिन्न दातृनिकायसँग गरिएका सम्झौता र समझदारीका फाइल, विभिन्न ऐतिहासिक मठमन्दिरमा भएका सुन–चाँदीका गरगहनाका विवरणयुक्त कागजात र ऐतिहासिक पुस्तक र फर्निचर जलेर नष्ट भएका छन् । त्यस्ता वस्तुका क्षतिलाई मूल्यमा आँकलन गर्नै नसकिने सरोकारवालाहरू बताउँछन् ।
ती दस्तावेज लैनचौरस्थित परिषद्को कार्यालय उपराष्ट्रपतिको कार्यालय र निवासका लागि लिइएपछि परिषद्को कार्यालय ललितपुरको पुल्चोकस्थित पुरानो बालपरिषद्को साँघुरो स्थानमा सार्नुपरेको थियो । २०७५ मङ्सिरमा परिषद्को कार्यालय त्यहाँ सार्दा सबै दस्तावेज त्यहाँ राख्ने ठाउँ नभएपछि ‘केही समयका लागि’ भनेर भृकुटीमण्डपको सोही गोदाममा राखिएको थियो ।
‘केही समयका लागि’ भनेर तत्कालीन व्यवस्थापन गरिएका दस्तावेज तीन वर्षभन्दा बढी समय पनि स्थायी रूपमा सुरक्षित व्यवस्थापन भएन । जसकारण आगलागी हुँदा ती ज्यादै महत्वपूर्ण दस्तावेज जलेर नष्ट भए । तर कति के–के जलेर नष्ट भए भन्ने यकिन छैन ।
समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्ट आगलागीबाट भएको क्षतिको विस्तृृत विवरण सङ्कलन भइरहेको बताउनुहुन्छ । परिषद्मा दरबन्दीभन्दा करिब आधामात्र जनशक्ति रहेको भन्दै उहाँले परिषद्सँग जोडिएका विभिन्न सङ्घ संस्थाका कागजातसमेत भिडाएर यकिन गर्नुपर्ने भएकाले केही बढी समय लागेको बताउनुभयो । उहाँले आफूहरू त्यसको मुचुल्का बनाएर विस्तृत विवरण तयार पार्नेक्रममा रहेको र केही दिनमै सार्वजनिक गर्ने बताउनुभयो ।
आगलागी भएको चार दिन बित्दा पनि के–कति क्षति भएको भनेर मुचुल्कासमेत तयार हुन नसक्दा अगालागीका कारण खोजी गर्ने कार्यमा पनि ढिलाइ भएको छ । कुनै विद्युतीय लाइन नजोडिएको गोदामघरमा मध्यबर्खाको समयमा भएको आगलागी कतै सुनियोजित त होइन भन्ने शङ्का पनि गर्न थालिएको छ । प्रहरी प्रशासनले पनि मुचुल्का नउठेका कारण त्यसमा कुनै किसिमको छानबिन अगाडि बढाएको छैन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले क्षतिका विवरण परिषद्ले नै यकिन गर्न नसकेकाले मुचुल्का बनाउने र थप छानबिन गर्ने कार्य नभएको बताउनुभयो । आगलागी कतै सुनियोजित त होइन भन्ने प्रश्नमा सदस्य–सचिव भट्ट भन्नुहुन्छ, “आगलागी भइसकेपछि यस्ता शङ्का स्वाभाविक हुन् । दस्तावेज नष्ट हुँदा कसलाई के फाइदा हुन सक्छ भन्ने विषयमा हामी पनि अनुसन्धान गरिरहेका छौँ ।” बुधबार नियन्त्रणमा आएको भनिएको आगो बिहीबार फेरि फैलेको कुरालाई पनि शङ्काका रूपमा हेरिएको छ ।
आगलागी हुँदा परिषद्का दस्तावेजमात्र होइन, त्यही गोदाममा राखिएका राष्ट्रिय अपाङ्ग कोषका अरू सामग्री पनि जलेर नष्ट भएका छन् । तिनमा कोषलाई विभिन्न दातृनिकायले सहयोगस्वरूप उपलब्ध गराएका अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्न राखिएका ह्विलचेयर, वाकर, कृत्रिम हात–खुट्टा, बेल्ट, सेतो छडीलगायतका अपाङ्गता सहयोगी सामग्री छन् । कोषका सभापति बेकराज भट्टराईका अनुसार कोषले त्यहाँ भण्डारण गरेका करिब पाँच लाख मूल्यबराबरका सामग्री जलेर नष्ट भएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

