राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण
भक्तपुर | असोज ३०, २०८१
 
                                
                            भक्तपुर: बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।
    
राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्यलगायत सहायक नाइकेहरुले नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो ।  
राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन समेत गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरुप ग्रहण गर्नुभएको थियो । 
नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणासमेत प्रदान गर्नुभयो ।
    
त्यसैगरी, राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गर्नुभएको थियो । राजा हरिसिंह देव र रानी देवलदेवीले सिम्रणगढबाट ल्याएको मूल भक्तपुर तलेजुको प्रसाद र एकान्त कुमारीको प्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरेको जोशीले बताउनुभयो । 
    
राष्ट्रपतिलाई प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वली, राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमख टेकराज तिमिल्सिना, नागरिक अभियन्ता, सुरक्षा निकायका प्रमुखहरुलगायतले स्वागत गर्नुभएको थियो ।
    
मल्लकालदेखि राजा, महाराजाहरुले नवदुर्गाको पूजा, अर्चना गर्दै आए पनि बीचमा यो परम्परा खण्डित भएको बताइन्छ । 
२०४५ सालमा भूकम्प आएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राजाहरुले राष्ट्रप्रमुखको हैसियतमा र गणतन्त्र आएपछि राष्ट्रपतिले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिनुभयो । 
नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                            