वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
पर्सा | कात्तिक ७, २०८१

पर्सा: मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ ।
यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ ।
भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ ।
अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो ।
पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उहाँको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गर्नुभयो ।
हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उहाँको विश्वास छ ।
चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा रु छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...
चितवन: नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्द...