३ सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
म्याग्दी | कात्तिक ९, २०८१

गलेश्वर: गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।
स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो ।
बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पु¥याएको छ । असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न खेतमा पुगेका थियो ।
असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा भएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
“गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ, अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ । किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् । पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्नेछौँ”, उहाँले भन्नुभयो ।
असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी–२ का वडासदस्य रिजालले बताउनुभयो ।
उहाँका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान शन्तबहादुर नेपालीले बताउनुभयो । भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि किसानहरु चिन्तित भएको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताउनुभयो ।
“धानकोे एउटा बोट पनि ठाडो छैन, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?”
जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको बालीमा क्षति भएको हो । कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो ।
ढोरपाटन: सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...
काठमाडौं: एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...