भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडाैं | कात्तिक १७, २०८१

भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौँ:   यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो । 

 

“आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उहाँले भन्नुभयो, “तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।”

 

अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।

 

साता दिनपछि चिसो बढ्ने सम्भावना

 

अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ ।

 

जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताउनुभएको छ । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उहाँले भन्नुभयो, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।”

 

शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ  ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ ।

 

चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।  

काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् ।  अर्याललाई गृह ...

थप पढ्नुहोस्

काठमाडौं:   नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हु...

थप पढ्नुहोस्

काठमाडौं:   वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ।  क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।  ...

थप पढ्नुहोस्