लगाइयो भाईटीका, सकियो तिहार

काठमाडाैं | कात्तिक १८, २०८१

लगाइयो भाईटीका, सकियो तिहार

 प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन् ।

 

यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाईटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

 

आज भाईटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।

 

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

 

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

 

भाईटीका लगाउन आज दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि भने समितिले मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो ।

 

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यताअनुसार बिहान ११:३७ बजे नै टीका लगाएको जनाइएको छ ।

 

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् ।

 

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।

 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाईले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहीआएको छ ।

 

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो ।

 

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्