गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाँचको प्रदर्शन गर्ने
पाेखरा | कात्तिक २८, २०८१
पोखरा: गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ ।
आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो ।
यो कार्यक्रम हरेक दिन बेलुका दुई घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुती राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन् ।
प्रतिष्ठानले पुषको पहिलो हप्ता गण्डकी प्रदेशका मौलिक लोकबाजाहरूको प्रस्तुती ‘अर्केष्ट्रा’ प्रस्तुत गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । ४० जना वाद्यवादक विभिन्न जातजातिको मौलिक धुन र गण्डकी प्रदेशका कीर्तिशेष स्रष्टाहरूको चर्चित लोक गीतका धुनहरू एउटै स्टेजमा प्रस्तुत गर्नेछन् । बाजाले दिने धुन कति महत्वपूर्ण छ भन्ने बारेमा नयाँ पुस्तालाई जानकारी गराउनका लागि यो कार्यक्रम गर्न लागिएको हो ।
प्रतिष्ठानले अहिलेको आर्थिक वर्ष ८१/८२ को पहिलो चौमासिकसम्म आइपुग्दा वार्षिक कार्यक्रम अन्तरगत रहेका ५७ कार्यक्रम मध्येमा मौलिक बाजा र भाषाका कार्यक्रम लगभग सकेको जनाएको छ । बाजातर्फ गुरुङ समुदायको एक महिने छ्याडु बाजा प्रशिक्षण, नेवार समुदायको धिमे बाजा, साराङ नाच, नेपाल भाषा, श्रीकृष्ण नृत्य, गायन र बाजा, सोरठी प्रशिक्षण लगायतका कार्यक्रम भएको सदस्य सचिव श्रेष्ठले बताए ।
प्रतिष्ठानले गण्डकी प्रदेशमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्ने गरेको छ । आजसम्म ४२ वटा वाङमयिक संस्थासँग सहकार्य गरेको उनले खुलाए ।
यस्तै गत वर्ष जस्तै यो वर्ष पनि प्रादेशिक चित्रकला प्रदर्शनी हुने भएको प्रतिष्ठानले जनाएको छ । कुल ५ दिनको प्रदर्शनी मार्फत छनोट भएका चित्रले केन्द्रमा गएर प्रतिष्पर्धा गर्नेछन् ।
प्रतिष्ठानले स्रष्टाको क्याटगोरीको आधारमा परिचयपत्र वितरण गर्ने भएको छ । त्यो परिचयपत्र देखाएर स्रष्टाले विभिन्न ठाउँमा छुट पाउने अवस्था बनाउन खोजिएको छ ।
अनुसन्धानको काम र निर्माणका काम भइरहेको छ । भानुहलमा कुर्ची थपेर र साउण्ड सम्बन्धी काम गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । अक्षयकोष निर्माण गर्ने तयारीमा समेत भएको जनाइएको छ ।
यो वर्ष १५ जना स्रष्टाको बायोग्राफी समेत तयार पारिएको जनाइएको छ ।
यसरी बायोग्राफी तयार पारिएका स्रष्टामा साहित्यकार सूर्य खड्का बिखर्ची, सुमन कुमार गुरुङ र देवी वनवासी, संस्कृतिकर्मी पदमराज ढकाल, सङ्गीतकार नवराज बराल र श्यामलाल श्रेष्ठ, नृत्यकार धन बहादुर गुरुङ र टक बहादुर गुरुङ, नाटककार कृष्ण उदासी, समालोचक प्रा.डा. जगन्नाथ रेग्मी, प्रा.डा. यदुनन्दन उपाध्याय र झलक सुवेदी, कलाकार प्रमिला तुलाचन, लोक प्रसाद गुरुङ र क्षेत्रलाल कायस्थ रहेका छन् ।
यो वर्षका लागि तय भएका सबै कार्यक्रम चैत्रको मसान्तमा सक्ने तयारी गरिएको सदस्य सचिव श्रेष्ठले बताए । अहिलेको टिमको कार्यकाल आगामी बैशाख १४ गतेसम्म भएकोले त्यो दिनमा कार्यकालमा भएका सबै कामको फेहरिस्त प्रस्तूत गरेर विदा हुने तयारी भएको समेत उनले खुलाए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

