आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडाैं | कात्तिक २९, २०८१

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।
आज यहाँ लिभिङ विथ आइसिटिले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गर्नुभयो ।
उहाँले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आइटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताउनुभयो । यसका लागि सरकारले ‘एआई’ नीति ल्याउने, आइटी पूर्वाधार तयार पार्ने, बजेट विनियोजन गर्ने लगायतका योजना रहेको उहाँले जानकारी गराउनुभयो ।
आफ्नै कार्यकालमा काठमाडौँमा आइटी पार्क र ज्ञान पार्क (नलेज पार्क) निर्माण गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । मुलुकलाई डिजिटल बनाउने उद्देश्यको सुरुवात स्थानीय निकायका सरकारी काम प्रविधिमैत्री बनाइ सुरु गरिने उहाँले बताउनुभयो ।
“स्थानीय तहबाट डिजिटल नेपाल सुरु गर्छौँ, विस्तारै व्यापक बनाउदै लैजान्छौँ”, उहाँले भन्नुभयो, “डिजिटल नेपाल बनाउने भनाइ र गराइ एकातिर भइरहेको छ । यसलाई सुधारेर नीतिगत व्यवस्था, पूर्वाधार निर्माण र योजनावद्ध शैलीमा सूचनाप्रविधिको विकास थालनी गर्दै छौँ ।”
कार्यक्रममा आइटी काउन्सिलका अध्यक्ष अजितकुमार साहले सरकारले हाल सूचनाप्रविधिको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिन सकेमा सफलता हासिल गर्न सकिने बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्र ढकालले युवालाई स्वदेशमा टिकाउन प्रोत्साहन आवश्यक भएको बताउदै यसका लागि औद्योगिक प्रतिष्ठानको सहकार्य जरुरी रहेको बताउनुभयो ।
चेम्बर अफ कर्मसका सदस्य पङ्कज जलनले नीतिगत सुधार गरेर सरकारले युवालाई स्वदेशमै टिकाउने रणनीति ल्याउन आवश्यक रहेको बताउनुभयो । ‘डिजिटल पेमेन्ट’मासमेत भ्याट लाग्दा प्रविधि प्रयोगकर्ता हतोत्साही भएको उल्लेख गर्दै उहाँले भ्याट हटाउन सरकार समक्ष अनुरोध गर्नुभयो ।
पूर्वमन्त्री गणेश साहले नेपालमा आइटी हबको सम्भावना प्रशस्त भएको बताउँदै बेरोजगारी समस्या कम गर्न सकिने चर्चा गर्नुभयो ।
लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य पूरा गर्न डिजिटल पूर्वाधार निर्माण, नीतिगत सुधारसँगै असल शासन आचरण पालना गर्न सुझाव दिनुभयो ।
शुक्रबारसम्म सञ्चालन हुने स्टार्टअप एन्ड आइडिया फेस्टमा विभिन्न आइटीसम्बन्धी नवीन कार्य प्रदर्शनीमा राखिएका छन् ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...