पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अस्तव्यस्त

पाेखरा | कात्तिक ३०, २०८१

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अस्तव्यस्त

गण्डकी:    बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । 


दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ । 


भवन अभावमा प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन भइरहेको छ । प्रयोगशाला बातानुकूलित हुनुपर्नेमा पङ्खाबाट काम चलाइएको केन्द्रका चिकित्सक जनक खड्काले बताउनुभयो । बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवाका लागि उपयुक्त कोठा नभएको उहाँको भनाइ छ । महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधायुक्त बनाउनेतिर महानगरले चासो नदिएको स्थानीवासीको गुनासो छ । 


पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालन भइरहेको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो । उहाँले केन्द्रमा पूर्वाधार व्यवस्थापनदेखि सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको बताउनुभयो । सुवेदीले गत असोज १३ गतेदेखि केन्द्र प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । “म आउनुपूर्व केन्द्र झनै लथालिङ्ग अवस्थामा थियो, खानेपानी, शौचालयसमेतको राम्रो सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले भवन मर्मत, रङ्गरोगनलगायत आन्तरिक व्यवस्थापनको काम भइरहेको छ, केन्द्रको परिसरमा पर्खाल लगाउने काम भइरहेको छ ।”


प्रमुख सुवेदीले स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । खुला ठाउँमा भएकाले केन्द्रको सुरक्षामा पनि चुनौती रहेको उहाँको भनाइ छ । यसअघि सामान्य घेराबारसमेत नहुँदा केन्द्रको भवन परिसरमा सवारीसाधनको पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने आदि गर्दै आएका थिए । बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मी अपुग रहेको प्रमुख सुवेदीले बताउनुभयो । 


अस्पतालमा १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन सकेको छैन । केन्द्रमा इसिजी, थाइराइडलगायतको जाँच गर्ने उपकरणसमेत नरहेको प्रमुख सुवेदीले बताउनुभयो । 


“उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् । 


बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको चिकित्सक खड्काले बताउनुभयो । उहाँका अनुसार गत भदौयता झण्डै ११ हजार जनाले उक्त केन्द्रबाट सेवा लिएका छन् । केन्द्रले स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतनलगायत सेवा प्रदान गदै आएको छ । 


प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई सुविधासम्पन्न नगर अस्पतालका रुपमा विकास गर्न सकिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “यसतर्फ महानगर नेतृत्वको ध्यान जानु जरुरी छ ।’ 
 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

थप पढ्नुहोस्

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

थप पढ्नुहोस्