प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना
काठमाडाैं | मंसिर ३, २०८१
काठमाडौं: प्रजातन्त्र पुन:स्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेल्नुभएको तटस्थताको भूमिका नेपालको संसदीय अभ्यासमा अझै पनि खाँचो देखिएको छ ।
विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा एक सय ११ सिटसहित कांग्रेस बहुमतमा थियो । सो पार्टीका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा रहेको ६८ सिटसहितको प्रतिपक्षी दलबीच सदनमा हुने आरोपप्रत्यारोप र गरमागर्मी बहसलाई सन्तुलित तुल्याएकै कारण उहाँ प्रतिपक्षीले रुचाएको सभामुखका रूपमा स्थापित हुनुभयो ।
विभिन्न राजनीतिक दलका नेताहरूले करिब तीन वर्ष सभामुखको जिम्मेवारीमा रहँदा ढुङ्गानाले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई सन्तुलित रूपमा स्थापित गराउन सशक्त भूमिका निर्वाह गर्नुभएको भनी स्मरण गर्नुभएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
‘नेपालको राजनीतिमा अपूरणीय क्षति’
रघुजी पन्त, नेता नेकपा (एमाले)
दमनाथ ढुङ्गाना भनेको नेपालको लोकतान्त्रिक योद्धा हो । उहाँले लोकतन्त्र प्राप्ति र सुदृढीकरणमा योगदान दिनुभयो । उहाँले राजनीतिक बन्दीका रूपमा जेल बस्नुभयो र अरू नेताहरूलाई छुटाउनका लागि लागिपर्नुभयो । बहुदल ल्याउनका लागि सङ्घर्षशील योद्धा, वरिष्ठ अधिवक्ताका रूपमा रहनुभयो ।
प्रजातन्त्र पुनर्बहालीपछि प्रतिनिधिसभाको करिब तीन वर्षको अवधिमा उहाँले आफ्नो क्षमता देखाउनुभयो । तथापि, त्यो क्षमताअनुसारको राजनीतिक भूमिका भने पाउनुभएन । आफूलाई लागेको कुरा स्पष्ट बोल्ने बानीका कारण पार्टीले पछिल्लो समय भूमिका दिएन ।
उहाँ अत्यन्त सफल सभामुख हो । सन्तुलित ढङ्गले संसद्लाई सञ्चालन गर्न सक्ने खुबी भएको, दूरदृष्टि र लोकतन्त्रप्रति प्रतिबद्ध सभामुख हुनुहुन्थ्यो । सफल राजनीतिक व्यक्तित्वका साथै मानवअधिकारवादी पनि हुनुहुन्थ्यो । लोकतन्त्रका लागि आजीवन योगदान दिनुभएका ढुङ्गानाको देहवसान नेपालको राजनीतिमा दुःखद र अपूरणीय क्षति हो ।
‘सफल सभामुख’
विजय सुब्बा, नेता नेकपा (एमाले)
दमननाथ ढुङ्गाना प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो प्रतिनिधिसभाको सफल सभामुख हुनुहुन्थ्यो । सभामुख पद ठूलो भए पनि त्यसको नेतृत्व गरिरहँदा उहाँमा त्यो भावना कहिल्यै देखिएन ।
आफ्ना सदस्यका बारेमा पर्याप्त सूचना राख्नुहुन्थ्यो । सदनलाई सन्तुलित रूपमा सञ्चालन गर्न उहाँले ठूलो भूमिका खेल्नुभयो । संसद् भनेको प्रतिपक्षको हो, प्रतिपक्षीलाई अवसर दिनुपर्छ र उसको कुरा सुन्नुपर्छ भन्नेमा स्पष्ट हुनुुहुन्थ्यो । उहाँ स्पष्ट वक्ता र धेरैले श्रद्धा गर्ने हुनुहुन्थ्यो ।
‘सत्ता सरकारको र संसद् प्रतिपक्षको हो भन्नेमा स्पष्ट’
सोमबहादुर थापा, पूर्वसचिव, संसद् सचिवालय
दमननाथ ढुङ्गाना असल विधयक र राजनीतिज्ञ हो । लोकतन्त्र, प्रजान्त्र र सामाजिक न्यायको पक्षमा उभिने उहाँ कसैप्रति अन्याय नहोस् भन्ने भावना राख्नुहुन्थ्यो । मानवअधिकारवादीका रूपमा पनि आफूलाई स्थापित गर्नुभयो । उहाँ सफल सभामुख हो ।
उहाँले ‘सरकार भनेको सत्ता सञ्चालनका लागि हो, संसद्मा विपक्षीको आवाज उठ्नुपर्छ, विपक्षीलाई समय दिनुपर्छ र उसका कुरा सुन्नुपर्छ’ भन्ने नयाँ लोकतान्त्रिक मूल्यमान्यता ल्याउनुभयो । ‘बहुमतका आधारमा पेल्ने’ सोच अस्वीकार गर्दै त्यसलाई व्यवहारमा उतार्नुभयो ।
राजनीतिक दलहरूले दमनाथ ढुङ्गानालाई आ–आफ्ना ढङ्गले प्रयोग गरे पनि उहाँका विचार र विशेषतालाई आत्मसात् गरेनन् । मानवअधिकार, मूल्यमान्यता, स्वतन्त्रता, न्यायिक मूल्यमान्यता अहिले पनि अभ्यासमा छैनन् ।
उहाँको नेतृत्वमा रहेको संसद्को ओज लामो समयसम्म कायम रहन सकेन । ढुङ्गानाको नेतृत्वमा रहेको संसदीय अध्ययन अनुसन्धान केन्द्रमार्फत संविधान संशोधनको बहस चलिरहेको थियो ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

