विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती

लमजुङ | मंसिर ९, २०८१

विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती

लमजुङ:    सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् । पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले च्याउखेती सुरु गरेका छन् । 


गत वर्षदेखि च्याउखेतीको सुरुआत गरेका विद्यार्थीले यसवर्ष व्यावसायिक रूपमा ६ सय ५० पोका च्याउ नगरपालिकाबाट अनुदानमा पाएपछि उत्पादनमा ज्टेका हुन् ।विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र शर्माका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ उनीहरुले बजारमा बेच्ने गरेका छन् ।


च्याउ बिक्रीबाट प्राप्त भएको आम्दानीबाट खेती गर्दाको खर्च कटाएर उनीहरुको शैक्षिक क्रियाकलाप, छात्रवृत्ति, राहत र अतिरिक्त क्रियाकलापमा खर्च गरिने उहाँले जानकारी दिनुभयो ।


गतवर्ष सानो सङ्ख्यामा परीक्षणको रूपमा च्याउखेती थालेका विद्यार्थी उत्पादन भएपछि यसतर्फ थप आकर्षित भएका छन् । “विद्यार्थीहरुले उत्पादन गरेको च्याउ भनेपछि बजारमा सबैले किनिदिनुहुन्छ । यसले उनीहरुलाई उत्साह पनि बढेको छभने विद्यार्थीले सीपसमेत सिकिरहेका छन्”, प्रधानाध्यापक शर्माले भन्नुभयो । 


विद्यालयले यो शैक्षिक सत्रदेखि साताको एक दिन किताबबिना विद्यालय बोलाउने गर्दछ । उक्त ‘बुक फ्रि डे’को दिन विद्यार्थीलाई विभिन्न परियोजनात्मक काममा लगाउने गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।


उहाँले भन्नुभयो, “उक्त दिन विद्यार्थीले विभिन्न व्यवहारिक सीप सिक्ने र सोही सीपलाई आफ्नो समाज र परिवारमा उपयोग गर्ने गरेका छन् ।” अतिरिक्त क्रियाकलाप, कृषि कार्यक्रम, विभिन्न स्थानको अवलोकन, बजार सरसफाइलगायत व्यवहारिक काममा विद्यार्थीलाई सक्रिय बनाउने गरिएको प्रअ शर्माले बताउनुभयो । 


उहाँका अनुसार विद्यार्थीहरु किताबी अध्ययनबाट मात्र व्यवहारिक नबन्ने भन्दै एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, अवलोकन, अध्ययन र सीपमूलक काममा लगाउने गरिएको हो ।यही परियोजनाअन्तर्गत विद्यार्थीले बिहीबार र शुक्रबार च्याउखेती गर्न थालेका प्रअ शर्माले जानकारी दिनुभयो ।


“च्याउ उत्पादनका लागि पराल तथा पानी उमाल्न दाउरा विद्यालयले खरिद गरी उपलब्ध गरिदिएको छ । २ सय ५० पोका च्याउ अनुदानमा सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाले उपलब्ध गराइदिएको हो”, उहाँले भन्नुभयो । 


“च्याउका पोकालाई राख्नका लागि विद्यालयले कोठा उपलब्ध गराएको छ । च्याउ उत्पादन भएपछि विद्यार्थीले विभिन्न तौलका पोका बनाएर बजारमा बिक्री गर्दछन्”, प्रअ शर्माले भन्नुभयो, “विद्यार्थीलाई स्थानीय नागरिक तथा विद्यालयका शिक्षकहरुले सहयोग गरिरहेका छौँ ।” 


गतवर्ष परीक्षणको रूपमा ४० पोका च्याउखेती गरिएको भन्दै त्यसबाट रु ३८ हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।विद्यार्थीहरुकै रेखदेखमा उत्पादन हुने च्याउका लागि प्राविधिक सहयोगसमेत कृषि विकास शाखाले उपलब्ध गराएको छ । 


गत वर्ष उत्पादन भएको च्याउबाट विद्यार्थीले परिवारमासमेत आफ्नो मेहनतको स्वाद चखाउन पाएका थिए भने शैक्षिक क्रियाकलापका लागि केही रकम जम्मा पनि गरेका विद्यालय प्रशासनले जनाएको छ ।


विद्यार्थीद्वारा उत्पादित च्याउमा कुनै विषादी प्रयोग गरिँदैन । बजारमा बाहिरबाट आउने च्याउभन्दा स्वस्थकर हुने भएकाले उपभोक्ताले पनि रुचाएका विद्यार्थी र शिक्षकको अनुभव छ ।विशेषगरी विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक अभ्यास गराउने उद्देश्यसले यो कार्यको थालनी गरिएको विद्यालयले जनाएको छ । 


“किताब पढ्ने मात्रै होइन यसलाई व्यवहारमा उतार्न पनि च्याउखेती गरेका हौँ”, कक्षा ८ की छात्रा अनुशा अधिकारीले भन्नुभयो, “भविष्यमा कृषि गर्न चाहनेलाई यसले सीप र अनुभव दिन्छ भने अन्य व्यक्तिलाई सिकाउन पनि सकिन्छ ।”


कक्षा ७ की संस्कृति श्रेष्ठले पढाइसँगै सीप र आम्दानीबाट शैक्षिक क्रियाकलापमा सहयोग पुगोस् भनेर च्याउखेती गर्दै आएका बताउनुभयो । “बुक फ्रि डेबाहेक अन्य दिनमा सैद्धान्तिक अध्ययनबाट बचेको समयमा च्याउखेतीको हेरचाह गर्ने पालो मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्