विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
धनुषा | मंसिर १२, २०८१
धनुषा: मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी कडरियाले भन्नुभयो, “विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले एक हजार चार सय प्रहरी परिचालन गरिनेछ ।
चोरी, डकैती, पाकेटमारलगायत अपराध रोक्न तालिम प्राप्त सदा पोसाकका प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।
सिमानाबाट मेलासम्म शान्तिसुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर मेलामा सात सय पाँच सशस्त्र प्रहरी परिचालन गर्नाका साथै अत्यधिक भीड हुने ठाउँमा ड्रोनको सहायताले सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।
मेलामा आउने सवारीसाधन तथा भीडलाई व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारीसाधन तथा हल्का सवारीसाधनको पार्किङस्थलको व्यवस्थापन गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताउनुभयो । भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा गरेको सरसफाइ, बाह्र बिघा रङ्गभूमि मैदानमा एक सय अस्थायी शौचालय निर्माण, हनुमानगढीमा शौचालय तथा ठाउँठाउँमा चापाकल व्यवस्थापनको काम सुरु गरेको नगरप्रमुख मनोज साहले जानकारी दिनुभयो ।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले प्रादेशिक अस्पतालले २४सैँ घण्टा चिकित्सकलाई तयारी अवस्थामा राखेको बताउनुभयो । मेलालाई लक्षित गरेर अस्पतालमा ७५ शय्या छुट्याउने, आवश्यक औषधिको व्यवस्थापनलगायत काम भइरहेको उहाँको भनाइ छ ।
खानेपानी संस्थानले ठाउँठाउँमा धाराको जडान तथा विद्युत् प्राधिकरणले मेलामा विद्युत् नकाटिने गरी व्यवस्थापन गरेको छ । साथै नेपाल टेलिकमले मोबाइलको नेटवर्कमा समस्या नआओस् भन्ने उद्देश्यले टावरसहितको थप ओवी भ्यानको व्यवस्थापन गरेको छ ।
सडक डिभिजन कार्यालयले सडकमा भएको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको डिभिजनल इञ्जिनियर दीपककुमार झाले बताउनुभयो । नेपाल रेडक्रसको समन्वयमा मेलाको विभिन्न भागमा एक सय एक निःशुल्क स्वास्थ्य शिविरका साथै दुर्घटनामा परेकालाई रगत निःशुल्क दिने व्यवस्था मिलाएको रेडक्रसका सभापति नरेशप्रसाद सिंहले बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले भन्नुभयो, “वाणिज्य सङ्घले मेलाको सुरक्षाका लागि आउने तीन सय ५० सुरक्षाकर्मीको बाँसको व्यवस्थापनका साथै बाहिरबाट आउने तीर्थयात्रीलाई आवास तथा भोजनको व्यवस्था गरेको छ । मङ्सिर १६ गतेदेखि नगर दर्शन सुरु भएर २२ गते रामकलेवासम्म सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महामहोत्सव हुन लागेको छ ।”
यसपटक भारतबाट पाँच सयको सङ्ख्यामा जन्ती आउन लागेका छन् भने पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।
श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कजको नेतृत्वमा अयोध्याबाट आजमगढ़, बक्सर पटना, मुजफ्फरपुर, दरभङ्गा, अहिल्या स्थान, सीतामढ़ी, विशौल, महोत्तरीको मटिहानी हुँदै जनकपुरधाम आउने उहाँले जानकारी दिनुभयो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

