उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी
महोत्तरी | मंसिर १३, २०८१

महोत्तरी: मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आउनुभएका उहाँले आम्दानी गर्न विदेश जानु नपर्ने धारणा राख्नुभयो ।
“हामीले कुरा नबुझी भौतारिन्छौँ, काम गर्न सके स्वदेशमा आन्दानीका प्रशस्त स्रोत छन्”, उखुको रस बेच्दै साहले भन्नुभयो, “आफ्नै ठाउँमा परिवारको साथमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।”
पछिल्ला ३ वर्षदेखि बर्दिबासलाई आफ्नो बजार बनाउनुभएका साहले उखुको रस बेचेको कमाइले परिवारको गुजारा चलाउनुका साथै यसअघि विदेश जाँदाको रु चार लाख ऋण पनि तिरिसकेको बताउनुभयो ।
“महिनामा रु ४० हजार कमाइ हुन्छ, किन जानु खाडी ”, उहाँले प्रश्न गर्नुभयो, “मैले अहिले विदेश जाने कुरा सोच्नै छाडैं ।”यसअघि गरिबीले थिचेर जीविकोपार्जनका लागि कतार र सउदीअरेबियामा ५ वर्ष बिताउँदा ऋणको भार लिएर फर्केको साहको अनुभव छ ।
“घरको दुःख टार्न भनेर ऋण गरेर गएँ, दलालको चक्कर रहेछ, भनेको काम नपाएर ऋण बोकेर रुँदै घर फर्केँ”, उहाँले भन्नुभयो, “स्वदेश फर्केर रु २ लाखमा उखु पेल्ने मोटर किनेर काम थालँै, अहिले परिवारको खर्च गर्न कुनै दुःख छैन ।”
यहाँको कामले पुरानो ऋण तिरेर घरगुजारा चलाउँदै छरछिमेकमा पर्दा दुई÷चार सय सरसापट चलाउनसक्ने भएको साहले बताउनुभयो । “मेरो छ जनाको परिवारलाई दैनिकी चलाउन, छोराछोरी पढाउन अहिले कुनै समस्या छैन”, उहाँले भन्नुभयो ।
साहले २ छोराछोरीलाई बर्दिबासमा राखेर पढाइ रहनुभएको छ ।साहजस्तै ईश्वरपुर नगरपालिकाको श्रीनगरका २० वर्षीय विक्कीकुमार साहले पनि उखुको जुस बेच्ने काम गर्दै आउनुभएको छ ।
खोजखाज गरेर राहदानी बनाउनुभएका विक्कीले विदेश जाने ऋण नपाएपछि सानो पुँजीले २ वर्षअघि उखु पेलेर जुस बेच्न थालेको बताउनुभयो । अहिले यसबाट कमाइ हुन थालेपछि छुटेको पढाइलाई निरन्तरता दिनुका साथै घर खर्चमा सहयोग गर्न थालेको उहाँले बताउनुभयो ।
“दैनिक रु १ हजार भन्दा बढी आम्दानी हुन्छ, अहिले १२ कक्षाको पढाइलाई निरन्तरता दिन थालेको छु । अब ऋण काढेर विदेश जाने सोच छैन”, विक्कीले भन्नुभयो । बर्दिबासचोकमा मात्रै यही पेसा गरिरहेका ६÷७ जना भेटिन्छन् ।
सबैजसोले दैनिक काम गर्दा मनग्ये आम्दानी भइरहेको प्रतिक्रिया दिने गरेका छन् । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चापदार्थ (उखु)खोज्न भौतारिनु नपर्ने र रस नगदमा जाने हुँदा उधारो करोबार नहुने विक्कीको भनाइ छ ।
मोटर गुडाउँदै उखु पेलेर रस बेच्ने काम गरिरहेकाहरूसँग किसान पनि खुसी छन् । यिनीहरूले चिनीमिलको भन्दा केही बढी मूल्यमा तत्कालै नगद दिएर उखु लाने हुँदा दैनिक गर्जो टार्न नगद आइरहेको बर्दिबास–२ का किसान क्षेत्रबहादुर भुजेलले बताउनुभयो ।
बजारचोकमा उखुको जुस खाने बाक्लै आगन्तुक हुन्छन् । आफ्नै आँखा अगाडि पेलेर ताजा जुस दिने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । “पसलमा राखिएका विभिन्न थरिका जुसभन्दा यो स्वस्थ्यकर र तत्काल ऊर्जा दिने हुन्छ”, स्थानीय स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भन्नुभयो ।
स्वदेशमा अवसर खोज्ने हो भने विदेश जानुपर्ने बाध्यता अन्त्य हुने झाको भनाइ छ । साना व्यावसायिलाई स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...
पोखरा: फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला सर्वसम्मत चयन भएका छन् । पोखरा–११, फुलबारीमा सम्पन्न भएको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनबाट बास्तोला अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसम...
रुपन्देही: रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासी...