ऐतिहाँसिक गाजाको दह: पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित
बाग्लुङ | मंसिर १३, २०८१
बलेवा: यहाँस्थित ऐतिहाँसिक गाजाको दह नजिकै व्यापार गर्दै आउनुभएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्नुहुन्थ्यो । पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ ।
वर्षात्मा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर अहिले त वर्षात्मा पनि यो ताल सुख्खा जस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् ।
२ हजार ५ सय मिटर उचाइको गाजा दहको पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताउनुभयो ।
सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षात्मा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।
पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् ।
बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो । यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाबासी पूजा गर्न पुग्छन् । त्यस बाहेक अन्यत्रबाट पनि घुम्न जानेहरु धेरै छन् ।
यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल समेत देखिन्छ । उच्च पहाडमा भएकोले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सँधै सफा हुन्छ । यसैले यहाँ पर्यटक जानेआउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका धेरै क्षेत्र देखिन्छन् । त्यसैले यहाँ पैदल यात्रा गरेर पनि पर्यटकहरु पुग्ने गर्छन् ।
“यो दह धार्मिक रुपमा पनि प्रसिद्द छ, तर संरक्षणको नाउँमा डोजर लगाएर पानी घट्यो ” स्थानीय थापाले भन्नुभयो “अब मौलिक रुपमै संरक्षण नगरे दहको अस्तित्व सकिन्छ । ” सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उहाँले माग गर्नुभयो ।
गाजा दहको छेवैमा रहेको सिद्द थानमा बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ । बाला चर्तुदर्शीमा त सतबिज झर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।
गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचिकृत गरेको छ । तर पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञ समेत लगाएका छन् ।
शनिबारदेखि शुरु भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका वडा नंं ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताउनुभयो । यो महायज्ञ धार्मिक मात्र नभई सास्कृति र दह संरक्षणको अभियान भएको उहाँको भनाइ छ ।
पानी सुक्दा पर्यटकीय गतिविधि पनि ठप्प हुने स्थानीय यानुकला कालामगरले गुनासो गर्नुभयो । ताल छ भनेरै धेरै मानिस घुम्न आउने हो, पानी सुक्यो भने त यहाँ कोही आउँदैन’ कालामगरले भन्नुभयो, “यहाँको महत्व जोगाउनु पर्छ । ”
गाजा दहको आसपासमा बस्ने मगर र छन्त्याल समुदाय बसोबास गर्दछन् । उहाँहरुले यहाँको धार्मिक मठमन्दिरमा पूजा गर्नुहुन्छ । साथै, मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र विनासालैज्यो जस्ता संस्कृति समेत देखाउने चलन छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

