बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी
कञ्चनपुर | मंसिर १६, २०८१
 
                                
                            कञ्चनपुर: बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ ।
तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताउनुभयो । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ ।
 
    
काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । 
“स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भन्नुभयो, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पु¥याएर बिक्री गरिँदै आएको छ ।” अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 
    
गत वर्ष उहाँले दुई रु लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गर्नुभएको थियो । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहनुभएको छ । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउनुहुन्छ । 
 
    
भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताउनुभयो । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्नुहुन्छ । 
    
काँक्राखेतीबाट रु तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उहाँले रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आउनुभएको छ । उहाँले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आउनुभएको छ । 
    
“तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भन्नुभयो, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । 
चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आउनुभएको छ । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गर्नुभयो ।
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            