सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडाैं | मंसिर १८, २०८१

सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ:   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज यहाँ आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’मा उहाँले नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आह्वान गर्नुभएको हो ।

 

उहाँले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताउनुभयो ।

 

टिकटकजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरुको लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “नेपालमा डिजिटल टेक्नोलोजीमा लगानीको वातावरण छ, प्रतिफल पनि सुनिश्चित गरिएकाले निर्धक्क भएर लगानी गर्न सक्नुहुन्छ ।”

 

सूचना–प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले समाजप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने सर्तहरु पनि राखेको जानकारी दिनुभयो ।

 

ती सर्त पालना गरेर नेपालमा टिकटक पुन: सञ्चालनमा आएको उहाँले बताउनुभयो । सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य साकार पार्न नागरिक समाज, निजी क्षेत्र, सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगकर्तालगायत व्यक्ति र संस्थाको साझा प्रयत्न आवश्यक छ भन्नुभयो ।

 

मन्त्री गुरुङले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम मन्त्रालयमा टिकटक सूचीकरण भएको बताउनुभयो ।

 

टिकटकले डिजिटल सुरक्षा अभियान, तालिम र कार्यशाला, स्थानीय सामग्री उत्पादनमार्फत डिजिटल साक्षरता बढाउन, शैक्षिक सामग्री तयार गर्न, छात्रवृत्ति प्रदान, शैक्षिक प्रतिष्ठानमा स्मार्ट कक्षाकोठा सञ्चालनका माध्यमबाट मुलुकको शैक्षिक प्रणालीको आधुनिकीकरणमा सघाउ पुर्याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुरुङले बताउनुभयो ।

 

देशको पर्यटन प्रवद्र्धनमा सघाउने, आइटीको विकासमा योगदान गर्ने, सांस्कृतिक र शैक्षिक उन्नतिमा जोड दिनेलगायत सर्त सरकारले टिकटकसँग राखेको जानकारी मन्त्री गुरुङले दिनुभयो । सरकारले राखेका ती सर्त पालना गरेकाले टिकटक नेपालमा दर्ता भई पुनः सञ्चालनमा आएको बताउनुभयो ।

 

“टिकटकले सामाजिक आर्थिक विकासका साथै मर्यादित समाजिक सञ्जालको छवि कायम गर्छ भन्नेमा विश्वस्त छाैं”, उहाँले भन्नुभयो, “नेपाल सरकारले आगामी दशकलाई आइटी दशकका रूपमा घोषणा गरिसकेको तथा देशलाई सूचना– प्रविधिको हबका रूपमा विकास गर्ने लक्ष्य छ ।”

 

उहाँले आइटीका माध्यमबाट पाँचदेखि १० लाख रोजगारीका अवसर सृजना गर्ने सरकारी लक्ष्य पनि सुनाउनुभयो । फरक प्रसङ्गमा सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जालहरू मुलुकको मौजुदा ऐन, कानुन र कार्यविधिअनुसार सञ्चालन हुुनुपर्नेमा जोड दिनुभयो ।

 

उहाँले बढ्दो ‘साइबर’ अपराध नियन्त्रणबाट नै सभ्य समाजको निर्माणमा सहयोग पुग्ने भएकाले साइबर सुरक्षाका निम्ति पनि सरकार प्रतिबद्ध रहेको दोहो¥याउनुभयो ।

 

महिला तथा बालबालिका यसबाट बढी प्रभावित भएकामा चिन्ता व्यक्त गर्दै मन्त्री गुरुङले सूचना प्रविधिको सही उपयोगमा जोड दिनुभयो ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्