सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
काठमाडाैं | मंसिर १९, २०८१
फुङ्लिङ: स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।
सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।
याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सबस्टेसनसम्मको विद्युत् प्रसारण प्रणाली निर्माण सम्पन्न गरिएको छ । विसं २०७९ मङ्सिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण रु दुई अर्ब ६३ करोड २९ लाख लागतमा छोटो अवधिमै सम्पन्न भएको हो ।
सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको संख्या आठ पुगेको छ । ताप्लेजुङमा हालसम्मका सबैभन्दा ठूला आयोजनामध्ये ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना प्रमुख हो ।
त्यसलाई सानिमा हाइड्रो कम्पनीले निर्माण गरेको हो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा सञ्चालित २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट आयोजना पनि यस क्षेत्रका महत्त्वपूर्ण आयोजना हुन् ।
इँवाखोला जलविद्युत् आयोजनामा नौ दशमलव नौ मेगावाट र माथिल्लो इँवाखोला आयोजनामा नौ दशमलव सात मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यी आयोजना ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इन्द्रावती खोलाबाट सञ्चालित छन् ।
पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा युनिटेक हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच दशमलव आठ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ ।
ताप्लेजुङमा हाल डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
यी आयोजना सम्पन्न भएपछि जिल्लामा विद्युत् उत्पादन थप विस्तार हुने अपेक्षा गरिएको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय ...
काठमाडौं: रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि ध...
काठमाडौं: मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौं...