सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण भोलिदेखि, तयारी पूरा
कैलाली | मंसिर २१, २०८१

कैलाली: ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा प्रदर्शनीस्थल निर्माणलगायतका विभिन्न कार्यहरू सम्पन्न भइसकेका छन् ।
यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष कुँवरको भनाइ छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ ।
महोत्सव आयोजना गर्न रु तीन करोड लागत लाग्ने र रु १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै , यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् ।
समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत १८ औँ संस्करणको रूपमा यो महोत्सव आयोजना गर्न लागिएकोे सङ्घका महासचिव ओम विष्टले बताउनुभयो । सधैँका संस्करणमा झै यसपटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक कार्यका लागि छुट्टाइएको उहाँको भनाइ छ ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, र अन्यलाई रु एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने छ ।
महोत्सवको मुख्य प्रायोजक कृषि विकास बैंक, संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश, मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार र प्रवर्द्धकका रूपमा कैलाली जिल्लाका सम्पूर्ण स्थानीय तह रहेका छन् ।
महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २९ उपसमिति रहेका छन् ।
काठमाडौं: सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्दा नेपाली भाषामा राख्न भाषा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सरकारले भाषाको प्रयोग गर्दा भाषा आयोगको सिफारिस...
मुस्ताङ: जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा क...
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु। दुई लाख सात हजार ९०० ...