शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला

रामेछाप | मंसिर २३, २०८१

शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला

रामेछाप:    गोकुलगङ्गा गाउँपालिकाको  शैक्षिक  अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ ।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सयोगमा गोकुलगङ्गा गाउँपालिकाले पालिकाका ३३ विद्यालयलाई सहभागी गराएर प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको हो । 


मेलामा बालबालिकाद्वारा निर्माण गरिएका शिक्षण सिकाइ क्रियाकलापअन्तर्गतका सामग्री र परम्परागत सामग्री (ढिकी, जाँतो, ओखल, मुसल) लगायत सामग्री प्रदर्शनीमा राखिएका थिए ।
  

कार्यक्रमका अवसरमा जङ्कफुड (पत्रु खाना) खान नहुने, नियमित स्वास्थ्यको ख्याल राख्नुपर्ने, आफ्ना बालबालिकाले गृहकार्य गरे÷नगरेको अभिभावकले नियमति अनुगमन गर्नुपर्नेलगायत सन्देश दिने खालका दोहोरी गीत तथा नाटक प्रदर्शन गरिएको थियो ।

    
एकअर्को विद्यालयलाई अन्तरघुलन गराई प्रारम्भिक शिक्षण सिकाइ क्रियाकलापलाई वृद्धि गर्दै पालिकाको शैक्षिक अवस्था सुधार गर्न कार्यक्रम अयोजना गरिएको गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले बताउनुभयो ।  


यस्ता सिकाइ मेलाले आफूहरूजस्ता विद्यार्थीलाई स्थानीयस्तरमा भएका सामग्री र सीप कसरी प्रयोग गर्ने भन्ने जानकारी हुने तथा अन्तरविद्यालयको सीप एकअर्काले आदानप्रदान गर्दा विद्यार्थी साथीबीच सद्भाव कायम हुने कार्यक्रममा सहभागी शारदा मावि कक्षा १२ की छात्रा प्रियङ्का रेग्मीले बताउनुभयो । 


यस्ता गतिविधले आफूजस्ता विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन मद्दत पुग्ने गोकुलगङ्गा माविमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी सचिन भण्डारीले बताउनुभयो । 
    
    
गोकुलगङ्गा गाउँपालिकामा २०७८ सालदेखि सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजनामार्फत बालबालिकाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दैआएको छ । 

    
स्थानीयस्तरमा शिक्षकले निर्माण गरिरहनुभएको शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको सेतो गुराँस राष्ट्रिय बाल विकास केन्द्रले जनाएको छ । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजना प्रमुख कर्ण दराईले बताउनुभयो ।

    
प्रारम्भिक तहका बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन र जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले गाउँपालिकाले सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोगमा यस्तो कार्यक्रम आयोजना गरेको गाउँपालिकाका शिक्षा अधिकृत नरेन्द्रसिं भण्डारीले बताउनुभयो । 


रामेछापमा गुणस्तरीय भवन भए पनि विद्यार्थी र शिक्षाको गुणस्तर खस्कँदै गइरहेकाले घट्दै गएको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न यस्ता कार्यक्रम विभिन्न पालिकाले गर्न सके शैक्षिक गुणस्तर वृद्धि हुने गाउँपालिकाका प्रवक्ता चन्द्र सुनुवारले बताउनुभयो ।

काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

थप पढ्नुहोस्

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।   नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न ...

थप पढ्नुहोस्