चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङमा ४ हजार २ सय ३९ विद्यार्थी रहेका छन्। त्यस्तै गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १ सय ८६ जना विद्यार्थी रहेको विवरणमा उल्लेख छ। प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको छ भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको जनाइएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले एसईई परीक्षालाई विद्यार्थीमैत्री, सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाहरूलाई समन्वय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। मन्त्रालयका अनुसार एसईई विद्यार्थीहरूको शैक्षिक जीवनको महत्वपूर्ण मोड भएकाले यसलाई तनावमुक्त, अनुशासित र सकारात्मक वातावरणमा सम्पन्न गराउन अभिभावक, शिक्षक, विद्यालय प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीबीच सहकार्य आवश्यक छ। अभिभावकहरूलाई घरमै शान्त र अध्ययनमैत्री वातावरण सिर्जना गर्न, बालबालिकासँग नियमित संवाद गर्न र अनावश्यक दबाब नदिन आग्रह गरिएको छ। “निश्चित ग्रेड ल्याउनैपर्छ” भन्ने सोचभन्दा प्रयासको कदर गर्दै आत्मविश्वास बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। साथै पोषिलो आहार, पर्याप्त निद्रा र अध्ययनबीच सन्तुलन कायम गर्न तथा मोबाइलजस्ता उपकरणको प्रयोग सीमित गर्न सुझाइएको छ। विद्यालय र शिक्षकहरूलाई विद्यार्थीको शैक्षिक अवस्था र मनोस्थिति बुझी अभिभावकसँग समन्वय गर्न, डररहित वातावरण सिर्जना गर्न तथा आवश्यक परे अतिरिक्त सहयोग उपलब्ध गराउन निर्देशन दिइएको छ । टाढाबाट आएका विद्यार्थीहरूको व्यवस्थापनमा पनि विशेष ध्यान दिन भनिएको छ। केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षाकर्मीहरूलाई परीक्षा वातावरण बालमैत्री बनाउन, अनावश्यक कडाइ वा त्रास नदेखाउन तथा परीक्षार्थीको गोपनीयता कायम गर्न निर्देशन दिइएको छ। परीक्षा केन्द्रमा स्वच्छ खानेपानी, शौचालय, सेनिटरी प्याड र प्राथमिक उपचारको व्यवस्था अनिवार्य गरिएको छ। नक्कल तथा नक्कली परीक्षार्थी नियन्त्रणमा सजग रहन र परीक्षा आचारसंहिता पूर्ण रूपमा पालना गराउन मन्त्रालयले जोड दिएको छ। सरोकारवाला सबै पक्षको सहकार्य, जिम्मेवारी र संवेदनशीलताबाट मात्रै एसईई परीक्षा सफल, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सकिने विश्वास गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । एसईई परीक्षा २०८२ चैत १९ गतेदेखि २९ गतेसम्म हुँदैछ ।
पोखराः पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो । संस्थापक एवं प्राचार्य डा. महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गरे । ’प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको छ । अब पनि यसै अनुसार चल्ने हो । गुणस्तरीय शिक्षाका हेतु हामी व्यवस्थापकीय र शैक्षिक पक्षमा सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेका हौँ । सहलगानीदेखि दुई विद्यालयका शिक्षक अनुभव आदानप्रदान तथा सहकार्य गरिनेछ ।’ डा. पराजुलीले भने । पत्रकार सम्मेलनमा उपस्थित भएका प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले उत्कृष्ट नतिजा ल्याइरहेको शान्ति निकेतनसँग सहकार्य गरी अघि बढ्न लागेको जानकारी दिए । ’दुई विद्यालय एकआपसमन गाभिने बुझ्नु हुँदैन । लगानीदेखि शैक्षिक सञ्चालनमा दुई पक्षको सहकार्य हो । अब हामी आफैमा प्रतिष्पर्धा गर्दै, निखारिँदै, गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा अघि बढ्ने हो ।’ पौडेलले भने । २०६२ सालमा स्थापित स्कूलले २० वर्षे शैक्षिक यात्रामा गर्व गर्न लायक उपलब्धि हासिल गरिसकेको प्राचार्य पराजुलीले जानकारी दिए । ’स्थानीय र राष्ट्रिय परीक्षाको नतिजा विश्लेषणमा पटक पटक सर्वोत्कृष्ट विद्यालय भई पुरस्कृत भइसकेको छ। एसइई परीक्षामा पटक पटक जिल्लामा उत्कृष्ट स्थानसहित ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत शान्ति निकेतनले उत्पादन गरिरहेको छ ।’ डा। पराजुलीले भने एकलधारामार्गमा अवस्थित यो विद्यालय अब १५ करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाएर धारापानी मार्गमा विस्तार गर्न लागेको स्कूलले जनाएको छ । करीब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लगानी गरी एक वर्षभित्रै द्रुतगतिमा निर्माण कार्य अघि बढाएर विद्यालय भवन सम्पन्नको अन्तिम चरणमा रहेको प्राचार्य पराजुलीले बताए । अत्याधुनिक प्रविधियुक्त भवन अपाङ्गता मैत्री बनेको स्कूलले जनाएको छ । बालबालिकाहरूका लागि लिफ्टको व्यवस्थाका साथै अण्डरग्राउण्ड पार्किङस्थल, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट प्राक्टिस नेट, स्वच्छ एवं स्वस्थ क्यान्टीन, अतिरिक्त क्रियाकलापका लागि ३ सय जना क्षमताको श्रव्य दृश्य कक्ष, अत्याधुनिक आइसीटी ल्याब, साइन्स ल्याब, लाइब्रेरी लगायतका सुविधाहरू थप गरी शिक्षण पद्धत्ति अनुसन्धानमूलक र खोज विधिमा आधारित बनाइने विद्यालयले जनाएको छ । स्मार्ट क्लास रूम, विभिन्न डिजिटल उपकरण, कम्प्युटर ल्याब, साइन्स ल्याब, वल्र्ड क्लास डिजिटल लाइब्रेरी, इन्फर्मेसन टेक्नोलोजीका माध्यमबाट शिक्षण सिकाइ हुने प्राचार्य पराजुलीले बताए । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद नेतृत्व विकासका साथै नृत्य, कला, सङ्गीत, नाटक, योगा, चिनियाँ र संस्कृत भाषाका कक्षालाई थप प्रभावकारी बनाउँदै विद्यालयलाई डिजी स्कुलका रूपमा विकास गरिने उनले बताए । निकट भविष्यमा प्राविधिक धारमा स्नातक तहका कथाहरू सञ्चालन गर्ने लक्ष्य राखिएको र यसका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको स्कूलले जनाएको छ । शान्ति निकेतन स्कूल आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रित शिक्षा प्रणालीमा विश्वास राख्ने उनको भनाई छ । अत्याधुनिक भौतिक संरचनाभित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने क्रममा पाठ्यक्रम र परीक्षा आधारित शिक्षामा मात्र केन्द्रित नरहने प्राचार्य पराजुलीको भनाई छ । ’पछिल्लो समयमा हराउँदै गएको मानवता र नैतिकता बढाउन परोपकार र संस्कारजन्य विषयवस्तुहरूमा विद्यार्थीहरूलाई जागृत गराउने हाम्रो लक्ष्य रहेको छ। विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ। विश्व बजारमा सबल, सक्षम र भविष्यमा पेशागत हिसाबले प्रतिस्पर्धी नागरिक उत्पादन गर्न मुख्य ध्येय रहनेछ।’ उनले भने । शान्ति निकेतन सञ्चालक समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सल्लाहकार पुरूषोत्तम पराजुलीले गरेका थिए ।
पोखरा: जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण गरेको हो । विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला,इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, प्रधानाध्यापक अर्जुन कडेल लगायतले विद्यार्थीलाई नगद वितरण गर्दै रकमको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । प्रत्येक कक्षाका दुई जनाका दरले आर्थिक सहयोग गरिएको कार्यक्रममा विद्यार्थीहरुले प्राप्त रकम आवश्यक शैक्षिक सामाग्री खरिदमा लागनी गर्ने विश्वास व्यक्त गरेका थिए । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् । सो संस्थाले पोखरा १७ दोविल्लामा मदसा(विद्यालय) संञ्चालनका लागि आवश्यक जग्गा खरिद गरेर भौतिक संरचना निर्माण गरिरहेको छ । विद्यालयमा नेपाली, अग्रेजी सहित मुस्लिम भाषाको पढाई हुने फाउण्डेशनका अध्यक्ष शेर जहारिले जानकारी दिनुभयो ।
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ। निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।
पोखरा: परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं। २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भौगोलिक रूपमा विकट क्षेत्र मानिने खबाङका विपन्न परिवारका ४१ जना विद्यार्थीलाई स्कूल ब्याग, कपी, पेन्सिल, भलिबल, स्किपिङलगायत आवश्यक शैक्षिक सामग्री तथा भलिबल, फुटबल, स्किपिङजस्ता खेलकुद सामग्री वितरण गरिएको हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस किसिमका सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास गरीएको छ । स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताउनुभयो । उहाँका अनुसार वि।सं। २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको वन्तले जानकारी दिनुभयो । यस्ता किसिमका संस्थाद्वारा गरिने सहयोगबाट गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानध्यापक फुन कुमारी बुढाथोकी र मालिका गाउँपालिका वडा नं। २ का वडाध्यक्ष उदय कुमार वुढाथोकीले बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरबहादुर बुढाथोकी, हेड्स नेपाल गण्डकीका उपाध्यक्ष हिराप्रसाद भट्टराई, सदस्य भीम पौडेल लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । हेड्स नेपालले यसअघि लमजुङ, तनहुँ, स्याङ्जा लगायत गण्डकीको ६ ओटा जिल्लामा शैक्षिक सामाग्री वितरण गरिसकेको छभने अन्य जिल्लामा समेत वितरण गर्ने योजना बनाएको छ । स्वास्थ्य, शिक्षा, कृषि तथा विपद् व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्याउने लक्ष्यसहित संस्था निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँ हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् । यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ४५६ जना उत्तीर्ण भएका छन् । दुई जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ । साथै १६०० र ८१६०१३ डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिन्छ ।
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ । त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।
पोखरा: पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् । स्नातक तहको विएएसडब्लु र विविएस तर्फका विद्यार्थीहरु पौसली गुरुङ, अनिशा सुनार, सम्झना भट्टराई, सुलभ पुन, प्रशंसा कायश्थ र श्रीजा श्रेष्ठ नियुक्त भएका छन् । उनीहरु मंगलबारदेखि नै पोखरा कार्यक्षेत्रमा खटिएका हुन् । कलेज संचालक समिति अध्यक्ष प्रा। डा। विश्वकल्याण पराजुलीले विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र होइन व्यवहारिक ज्ञान र सीप पनि सिक्नुपर्छ भन्ने अवधारणा अनुसार नयाँ कार्यक्रम शुरु गरेको जानकारी दिएका छन् । ‘विद्यार्थीलाई सैद्धान्तिक कुरा कसरी व्यवहारमा उर्ताने भन्नका लागि कार्यक्षेत्रमै पठाएर काम गर्ने तरिकाहरु सिकाउनका लागि हामीले यो परियोजना शुरु गरेको हौं’, अध्यक्ष प्रा. डा. पराजुली भन्छन् । नयाँ परियोजना विद्यार्थीहरुका लागि ज्ञान र सीप सिक्ने प्लेटफर्म बन्ने उनको विश्वास छ । त्यसैगरी सोही कार्यक्रममा कलेजका क्याम्पस प्रमूख नारायण कुमार श्रेष्ठले विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने दृष्टिकोणले पढ्दै कमाउँदै परियोजना शुरु गरिएको बताए । क्याम्पस प्रमूख श्रेष्ठका अनुसार आगामी दिनमा यो परियोजनालाई कलेजले निरन्तरता दिने छ । विद्यार्थीहरुलाई कलेज भोलेन्टर पदमा नियुक्त गरिएको हो । उनीहरु कलेजका दुतका रुपमा लेकसिटीका नियमित कार्यहरुमा समेत सहभागी हुनेछन् । कलेजमा अध्ययन अनुसन्धानमा समेत उनीहरुले सहयोग गर्ने सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले बताएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ । लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ । कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु ९समाजिक कार्य० विषयमा पठनपाठन गर्दै आएको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअनुसार गत वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी र कूल जम्मा पाँच लाख दश हजार ९८७ परीक्षार्थी सहभागी भएको उहाँको भनाइ छ ।

