काठमाडौं:  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ।  परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि ...

मुस्ताङ:   मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन सुरुआत भएको छ । दुई महिना हिउँदे बिदापछि जिल्लाका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् ।  हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् । हिउँदयाममा  स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक स्थान छाडेर बेँसीमा झारिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेले जानकारी दिनुभयो । जिल्लामा ३५ सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ विद्यालय सञ्चालनमा छन् । जिल्लाका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४  विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् । यसरी दुई महिना लामो हिउँदे जाडो बिदा दिएका विद्यालयले फागुनको पहिलो सातादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । जिल्लामा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ । जिल्लाका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरू फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिनुभयो ।  उहाँका अनुसार विद्यालय खुले पनि जिल्ला बाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका अधिकांश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूमा शैक्षिक पठनपाठन सुरु भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ । उहाँका अनुसार जिल्लाका तीन स्थानीय तहका विद्यालय हिउँदयामको पुस र माघमा विद्यालय पूर्ण रूपमा बन्द हुने भए पनि उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई हिउँदे बिदा दिँदैनन् । उपल्लो मुस्ताङका विद्यालयले स्थानीय गाउँपालिकाको सिफारिसमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसी स्थान्तरण गर्ने प्रचलन छ । चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गर्नसमेत बाधा पुग्ने भएकाले उपल्लो मुस्ताङका विद्यालयहरूले विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर शैक्षिक क्रियाकलाप गर्ने गर्छन् ।  उपल्लो मुस्ताङका विद्यालय जाडो छल्दै घुम्ती कक्षा चलाउन कात्तिकअगावै बेँसीको न्यानो स्थानमा स्थान्तरण गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिकाको तीन सामुदायिक विद्यालयको पोखरामा आफ्नै भवनमा घुम्ती कक्षा चलाउने गरेको उहाँले बताउनुभयो । यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका आठ सामुदायिक विद्यालयमध्ये सात विद्यालयलाई जाडो छल्न बेँसी झारिएको थियो । गाउँपालिकाको घमी आधारभूत विद्यालय भने जाडो छल्न बेँसी नझरी दुईमहिने हिउँदे बिदा दिएको थियो ।  घमी आधारभूत विद्यालय हिउँदे बिदापछि सञ्चालनमा आएको र बाँकी सात  सामुदायिक विद्यालयले घुम्ती कक्षाका रूपमा बेँसीमै रहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । लोघेकरका विद्यालय आपसमा अस्थायी मर्ज गरी दुई स्थानमा घुम्ती कक्षा सञ्चालनमा रहेको अध्यक्ष बिष्टले बताउनुभयो । तल्लो मुस्ताङका विद्यालय दुईमहिने लामो बिदापछि खुले पनि उपल्लो मुस्ताङका विद्यालय भने गर्मीयाम लागेपछि वैशाखमा साविककै स्थानमा फर्किएर शिक्षण सिकाइ क्रियाकलापलाई नियमित गर्छन् । सरकारले गत वर्षदेखि देशभर शैक्षिकसत्रमा एकरुपता ल्याएपछि हिमाली जिल्लाको शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्दै आइरहेको छ । यसअघि हिमाली जिल्लामा पुसअगावै चालु शैक्षिकसत्र सकेर फागुनमा नयाँ शैक्षिकसत्रको पठनपाठन सुरु गर्ने गरिन्थ्यो । शैक्षिकसत्र एकरुपताले हिमाली क्षेत्रमा पढ्ने विद्यालयका बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा बाधा पुग्ने गरेको  जनहित माध्यमिक बिद्यालयकी व्यवस्थापन समिति सदस्य सम्झना थकालीले बताउनुभयो ।  उहाँका अनुसार हिउँदे दुईमहिने बिदाले विद्यार्थीले पढेका र सिकेका सिकाइ उपलब्धि बिर्सने भएकाले शैक्षिक नजितामा असर पुग्ने गरेको छ । सरकारले हिमाली क्षेत्रको शैक्षिकसत्र कार्यान्वयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान यहाँ सुरु भएको छ ।   लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ थालनी भएको हो ।   पाल्पामा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनता माध्यमिक विद्यालय तानसेनबाट अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले यही विद्यालयमा माध्यमिक तहको शिक्षा अध्ययन गर्नुभएको थियो ।   आफू पढेको विद्यालयप्रति जिम्मेवार बनाउन सकिएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार, आर्थिक अवस्थामा सुधार, पूर्वाधारमा सुधार गर्न सकिने अभिप्रायले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।   आफूले पढेको जनता माविलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने मन्त्री सारुले प्रतिवद्धता जनाउनुभएको छ ।   सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।   ‘सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘पूर्वविद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका काम हुन सक्छन् भन्ने विश्वास छ ।’   फरक प्रसंगमा मन्त्री सारुले देशमा केही पनि भएन भन्नु गलत भएको पनि बताउनुभएको छ । उहाँले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताउनुभयो ।   मन्त्री सारुले भन्नुभयो “१०४ वर्षीय राणशासनको अन्त्य गर्दै जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्ने र जनताकै छोराछोरीले मुुलुुकको नेतृत्व गर्न पाउनुपर्छ भनेर प्रजातन्त्र, गणतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरियो, के यो परिवर्तन हैन ?, आज हाम्रा हात हातमा मोवाइल फोन, इन्टरनेट, कम्युटरजस्ता आधुनिक प्रविधि आए के तिनीहरु विकास हैनन् ? गाउँ–गाउँमा विद्यालय, सडक, खानेपानी, बिजुलीजस्ता विकासका पूर्वाधार पुगेका छन् ,तर हामी अझै देशमा केही भएन भन्न छाडेका छैनौँ, यो गलत हो ।” मन्त्री सारुले भन्नुभयो ”सकारात्मक सोंच राखेर अगाडि बढौँ, देशमा धेरै कुरा सुधार भएका छन् ।”   नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला आएको उहाँको भनाइ छ ।   लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुक्रबारदेखि १२ वटै जिल्लाका १५ वटा विद्यालयमा एकै साथ सुरु गरेको छ ।   मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि आफूले अध्ययन थालेको विद्यालयमा शुक्रबार पुुग्नुभएको थियो । मुख्यमन्त्रीसहित सबै मन्त्री र पूर्वविशिष्टलाई पूर्वविद्यार्थीको हैसियतमा अभियानमा जोडेर सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयास सुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारले ग्रामीण क्षेत्रको बसाइँसराइ रोक्ने, चर्को शुल्कमा निजीमा पढाउने प्रतिस्पर्धा न्यूनीकरण गर्ने भएकाले पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन अभियान ल्याइएको बताइएको छ ।

म्याग्दी:   गरिब तथा  जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ । विद्यार्थीलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउन बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्यापन हुने यो शिक्षालयमा अर्थाभावका कारण अध्ययन गर्न अक्षम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापित उक्त कोषमा त्यति रकम जम्मा भएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो ।        प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त शिक्षालयले २९ महिने कनिष्ठ प्राविधिक सहायक (जेटिए), बाली  र पशुविज्ञानमा तीनवर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गरेको छ । हाल यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन् 

तनहुँ:   तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ ।  व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो । मगर समुदायका विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिने उद्देश्यले व्यास नगरपालिकामा पहिलो पटक केशवटार माविबाट मगरभाषाको पढाई सुरू गरिएको हो । उक्त विद्यालयमा नेपाल मगर सङ्घले बनाएको नीति र स्थानीय पाठ्यक्रमअनुसार कक्षाहरू सञ्चालन गरिएको छ । केशवटार माविको कक्षा १ मा मगर भाषाको पढाइ थालिएको हो । मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको शुभारम्भ नगरप्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभयो ।  मगर भाषाको पढाइ सञ्चालनका लागि नगरपालिकाकै सहयोगमा पहिलो चरणमा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको थियो । मगर भाषा संरक्षणका लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ । तालिम प्राप्त शिक्षकहरूले विद्यालयहरूमा मगर भाषामा कक्षाहरू सञ्चालन गर्नेछन् । पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो ।  यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पुर्‍याएको र सिकाइमा प्रभावकारिता ल्याएको नेपाल मगर सङ्घका केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापाले बताउनुभयो ।  तालिममा मगर भाषाको पाठ्यक्रमको बारेमा याम बहादुर आले, इन्द्र बहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिनुभएको थियो । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए । 

पर्वत:   सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन्  । आर्थिक मन्दी, सरकारको असहयोग र  विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको  छ ।  गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए ।   क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो ।  नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमति दिएको छ । यसअघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो । समितिले दुई क्याम्पस ‘मर्च’ गर्नका लागि कानुनी प्रावधानहरूको संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाका प्रस्तुत गरेका थिए । अहिले गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित दुई सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा दुई सय ६८ जना विद्यार्थी रहेका छन् । क्यापसमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाने तर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्नुुपरेको संयोजक पहाडीले बताउनुभयो । दुवै क्याम्पसका सञ्चालक समितिले क्याम्पसलाई एकीकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एकीकरण प्रकिया अघि बढाइएकामा एक वर्षको प्रयासपछि सबै प्रक्रिया पूरा भएको उहाँले बताउनुभयो । क्याम्पस एकीकरण प्रक्रिया टुङ्गिएसँगै चालु शैक्षिकसत्रदेखि नै दुवैतर्फ सञ्चालित कक्षालाई एकीकृत रूपमा सञ्चालन गरिने भएको छ ।  बजारमा रहेको शिवालय बहुमुखी क्याम्पस र झण्डै दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षालाई विद्यार्थी र प्राध्यापकहरूको अनुकूलताअनुसार सञ्चालन गरिने उहाँले बताउनुभयो । दुवै क्याम्पस समुदायद्वारा सञ्चालन भएका थिए ।   जिल्लाभर १२ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सबैजसो क्याम्पसमा विद्यार्थीको सङ्ख्या न्यून छ । विद्यार्थीको सङ्ख्या न्यून हुँदा ती क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् ।

महोत्तरी:    महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् ।  मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् ।  स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताउनुभयो । जाडो महिना सुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाले बताउनुभयो ।      खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाउनुभयो ।      चाँडैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत र ओस आउने ह्वाङ्ग र त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन् ।  नबस्ने घर, न खाने अन्न र त्यसमाथि कठ्याङ्ग्रिँदो जाडोले उनीहरूको रोजगारी पनि बन्द भएको छ । उनीहरूलाई परिवार पाल्न निक्कै कठिनाइ भएको छ । त्यसमाथि बालबालिकाको पठनपाठन झन बोझझैँ भएको छ ।  स्थानीय ५४ वर्षीय रामसेवक सदाले जाडोको बेला कामकाज गर्न नसकिने, पैसाको अभाव हुने र लुगाफाटोको समस्या रहेको कारण यस बस्तीमा राम्ररी खानपान पनि पुर्‍याउन सबैलाई हम्मेहम्मे भएको बताउनुभयो । बालबालिकाहरूलाई कठ्याङ्ग्रिँदो जाडोमा घुर ताप्न लगाएर ज्यान जोगाउने गरेको उहाँले सुनाउनुभयो ।  यस बस्तीमा जाडोयाममा सबैलाई न्यानो लुगाफाटा, पोषिलो खानपिन र चिसो हावा छल्ने घरको अभाव बर्सेनि हुने गरेको स्थानीय ३९ वर्षीय वीरेन्द्र सदाले बताउनुभयो । उहाँले यस्तो अभावको बेला आफूहरूलाई कसैले कहीँबाट कुनै सहयोग नगरेपछि झन बढी समस्या भएको दुखेसो पोख्नुभयो ।      बस्ती नजिकै अर्को टोलमा घर रहेको वडाध्यक्ष अब्दुल गफार राईनलाई मुसहरी बस्तीको बासिन्दाको पीडाबारे सोध्दा उहाँले आफू पनि मुसहरको पीडासँग पीडित रहेको बताउनुभयो । तर, उनीहरूको समस्याको निदान आफ्नो हैसियतले गर्न नसकिने वडाध्यक्ष राईनले बताउनुभयो ।  वडाध्यक्ष राईनले मुसहरी बस्तीमा घर निर्माणको योजना पनि अगाडि सार्न खोज्दा त्यहाँ मुसहरसँग जग्गा अभाव रहेको, सबैसँग पर्याप्त जग्गा नरहेको कारण बाहिरी सहयोगले बनाइने एकै खालको घरको परियोजना चाहेर पनि लागू गर्न नसकिएको बताउनुभयो ।      मुसहर बस्तीका दुई सय बढी बालबालिका विद्यालय नगइरहेको सबालमा वडाध्यक्ष राईनले आफूले विद्यालय पठाउन मात्रै आग्रह गर्ने बताउनुभयो । तर उनीहरूको बालबालिकाहरूको अभावलाई पूरा गर्नसक्ने अवस्था नरहेको कारण जबर्जस्ती गर्न नसकिने बताउनुभयो ।  पुस र माघ महिनाको चिसो स्याँठले निम्त्याएको कठ्याङ्गिँ्रदो जाडोबाट बच्न गत साता यस बस्तीमा नेपाली सेनाले प्रतिपरिवार एक एक थान कम्बल बाँडेको सुनाउँदै बस्तीकी ७२ वर्षीया कोशिलादेवी सदाले यो सहयोग अपुग र अपर्याप्त रहेको बताउनुभयो । उहाँले दाताले प्रतिपरिवार नभएर आवश्यक भएका सबैलाई दिनुपर्ने धारणा राख्नुभयो । उहाँले एउटा कम्बल बूढापाखा राख्ने कि महिलाले ओढ्ने कि बालबालिकालाई दिने भनी प्रतिप्रश्न गर्नुभयो ।       यस मुसहर बस्तीमा अहिले बूढापाखा ठाउँठाउँमा खर, पराल र पातपतिङ्गर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ भने महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ ।  यस्तो अवस्थामा त्यस बस्तीका बालबालिकालाई ज्यान जोगाउनु नै मुस्किल छ । यस बस्तीका मुसहरहरू देशमा तीन तहको सरकार आएको र सङ्घीयताले देश विकासको दिशा लिइरहेको बेला आफूहरूले सङ्घीयता र लोकतन्त्रको अलि कति पनि अनुभूति गर्न नसकेको बताउँछन् । 

झापा:      झापामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् ।  विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।  काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताउनुभयो । “समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,” उहाँले भन्नुभयो, “राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।”  नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इञ्जिनीयर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरू भएकोमा खुसी व्यक्त गर्नुभयो ।  उहाँले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौ रकम विदेश गइरहेको जनाउँदै बिएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।  झापा अब मेडिकल हब बन्ने धारणा राख्दै उहाँ भन्नुहुन्छ, “कलेजको नाफा र घाटा सञ्चालकको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापावासीको साझा सम्पत्ति हो । हिजोका दिनहरूमा झापालीहरू डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरू भएको छ ।” महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता बाँस्तोलाले छोरी बुहारीका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताउनुभयो ।  उहाँले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नैपर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरूले छुटकारा पाएको जनाउँदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैङ्गिक दृष्टिकोणले सकारात्मक भएको बताउनुभयो । “छोरीहरूले विदेश पढ्न जान सहज थिएन,” उहाँ भन्नुहुन्छ, “पुरूष साथी खोज्नुपर्ने र कतिपय अवस्थामा विवाह गर्नैपर्ने बाध्यतात्मक अभ्यास थिए । अभिभावक पनि त्यस्तै चाहन्थे । तर, जिल्लामै एमबीबीएस पढ्ने अवसर पाउँदा ती तमाम समस्याको एकैचोटी समाधान भएको छ । जिल्लामै अभिभावकसँग बसेर पढ्न पाइने भएको छ ।”  नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं १ का इञ्चार्ज प्रकाश भण्डारीले बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरू हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताउनुभयो ।  “अझ धेरै अगाडि एमबीबीएसको पढाइ झापामा हुनुपथ्र्यो,” उहाँले भन्नुभयो, “क्षमता भएका जिल्लाबासीका छोराछोरीले आफ्नै आँगनमा मेडिकल शिक्षा हासिल गर्नसक्ने अवस्था आउनु गौरवको विषय हो । विदेशमा मात्रै पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बङ्गलादेशमा गत वर्ष आन्दोलन हुँदा नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सकस भएको हामीले भुल्नुहुँदैन । अब जिल्लामै पढ्न पाएपछि विदेशको अनेक जोखिम मोल्नु परेन ।” नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बङ्गलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न रू एक करोड तिर्नु परिरहेको जनाउँदै बिएन्डसीले जिल्लामै पठनपाठन गराउँदा हरेक ब्याचमा रू ५० करोड पुँजी विदेश जानबाट रोकिने बताउनुभयो ।  उहाँले दुई वर्ष अघि बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सञ्चालन हुनसकेको भए आफ्नो छोराले बङ्गलादेश जानुनपर्ने स्मरण गर्दै ढिलै भए पनि झापामा पढाइ हुँदा अभिभावकमा खुसीको माहौल छाएको बताउनुभयो ।  उहाँ भन्नुहुन्छ, “मेरो छोराले बाध्यताबस बङ्गलादेशमा पढ्न जानुप¥यो । हामी विदेशमा ठूलो धनराशी खर्चेर पढ्न जानुपर्ने अवस्थाको अन्त्य भएको हेर्न चाहन्थ्यौँ । झापामा एमबीबीएसको पढाइ अलि अगाडि नै सुरू हुनुपथ्र्यो ।”  विदेशीहरू पढ्न आउन थाले यही पुस २६ गतेदेखि पठनपाठन सुरू भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् । स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।  “पश्चिम बङ्गालको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएन्डसी पहिलो रोजाइ बनेको पाइयो,” जनसम्पर्क अधिकृत गिरीले भन्नुभयो, “हिजोका दिनमा नेपाली मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरू धाएर नेपालमा आउन थाले ।” आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापावासीको दशकौँं पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उहाँले मेडिकल कलेजका लागि विसं २०६८ मा सरकारबाट आशयपत्र पाउँदा र विसं २०७१ मा ३०० शय्याको अस्पताल सञ्चालन हुँदासमेत पठनपाठन सुरू हुन एक दशक कुर्नुपरेको बताउनुभयो । सत्तरी जना प्रोफेसर कार्यरत बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरू हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताउनुभयो ।  उहाँले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजीलगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताउनुभयो ।  “शान्त र सुविधासम्पन्न छ पढाउने भवन,” प्राडा शर्माले भन्नुभयो, “बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरू छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।”  सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उहाँले झापामा बिएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरू एक हजार रोजगारी सिर्जना हुने बताउनुभयो । “भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बिएन्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो,” प्राडा शर्माले भन्नुभयो, “सुरूमै पढाइ हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरू प्रोफेसर भइसक्थे ।”  झापाको आर्थिक विकासमा बिएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्‍याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको उहाँको धारणा छ ।      सर्वोच्च अदालतले विसं २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

सोलुखुम्बु:    जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।       चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।  जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ ।  जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिनुभयो ।  चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताउनुभएको छ । पिके मावि लोदिङ्का प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो विदाको निर्णय गरेको हो ।  उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताउनुभयो । “यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीयसमेत जाडो छल्न अन्यत्र गएपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ ।” 

पोखरा:  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १९ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।    पोखरा पुस्तक तथा स्टेशनरी संघले सामाजिक उत्तरदायित्व अन्तरगत पोखरा–१६ स्थित दिव्यज्योती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक समाग्री सहयोग गरेको हो ।   सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यार्थीहरूको पठनपाठनलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।    उनले यस्ता कार्यक्रमहरूलाई अझ निरन्तरता दिनुपर्नेमासमेत जोड दिए ।   यस्तै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पोखरेलले महासङ्घको उद्देश्य, भूमिका, र समाजमा यसले पु¥याउँदै आएको योगदानबारे चर्चा गरे ।    सोही कार्यक्रमकाबीच विद्यालयको पुस्तकालयलाई समृद्ध बनाउन पुस्तकहरूसमेत उपलब्ध गराएको पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी  संघका अध्यक्ष गोविन्द गौतमले जानकारी दिए ।   उक्त सामग्रीको अभाव झेलीरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पु¥याउने विश्वास व्यक्त गरे ।   अध्यक्ष गौतमले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित सहयोग गरेको बताउदै उक्त कार्यले प्रेरणादायक भूमिका खेल्ने उल्लेख गरे ।   कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सूर्य मोहन आचार्य, विद्यालयकी प्राचार्य लक्ष्मी खनाल, गोपाल गिरी, नन्दा गुरुङ, छविलाल आचार्य लागायतले बोलका थिए ।   पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी  संघका अध्यक्ष गोविन्द गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी संघका उपाध्यक्ष ध्रुव पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, सचिव राम सुवेदीले कार्यक्रमको संचालन गरेका थिए ।