काठमाडौं:  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ।  परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि ...

ढोरपाटन:   बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् ।  गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् ।  पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् । नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो । गत वर्षको तुलनामा यस वर्ष करिब ३५ विद्यार्थी कम छन् । यद्यपि चाप भने उस्तै छ । आर्थिक वर्ष २०८१÷८१ मा यस विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेकोमा चालु वर्ष ७१५ जना रहेका छन् ।  कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको रिजालले बताउनुभयो । पुस्तकालयको अभाव हुँदा बालबालिकालाई चाहे अनुसार सुविधा दिन नसकेको उहाँको भनाइ छ । हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।   हरेक वर्ष नारायणस्थानभन्दा बाहिर ठाउँबाट आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन् ।  पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण शहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माको शहरबाट अध्ययन गर्ने बढिरहेका छन् । सहजरुपमा शिक्षण सिकाइ गर्नका लागि १५ बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्टाएर पठनपाठन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिदै आएको छ । यस विद्यालय आव २०७६÷७७ मा नेपाल सरकारको नमुना विद्यालयमा छनोट भएको थियो ।  विद्यालयले बिदा कटौती गर्दा विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताउनुभयो । विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको उहाँको भनाइ छ ।   विद्यालयले एसइइसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताउनुभयो । उहाँका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी झोलुङ्गे पुल र यान्त्रीक पुल तरेर यहाँ पढ्न आउने गर्दछन् । पर्वत मात्र नभई पोखरा, बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकादेखि विद्यार्थीहरु यस विद्यालयमा आउने गर्दछन् ।   यस विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ । अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् ।  शिक्षक, कर्मचारी र यस ठाउँको समुदायले विद्यालयप्रति निकै चासो दिएकाले गर्दा विद्यार्थीको आकर्षण बढेको छ । यस ठाउँबाट धेरै मानिस बसाइँसराइ गरेर बाहिर गए पनि छिमेकी गाउँहरुबाट आउने सङ्ख्या बढी हुँदा विद्यार्थीको सङ्ख्यामा कमी छैन । टाढाका विद्यार्थी ल्याउनका लागि विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ । नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८÷७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ ।  विद्यालयले १५ वर्षअघि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो । अहिले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको छ । नमुना विद्यालय अनुदान कार्यक्रमअन्र्तगत पाँच वर्षमा आउने सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा दुई करोड ५० लाख शैक्षक गुणस्तरमा खर्च गर्न थालिएको छ । विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन् । १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन् ।  दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाइएको अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले बताउनुभयो ।  विद्यार्थीमैत्री शिक्षण सिकाइ, अङ्ग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित अध्यक्ष शर्मा दाबी गर्नुहुन्छ ।  यस विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताउनुभयो ।  दूरीका हिसाबले गशेण माविमा आउन एक घण्टा बढी लाग्ने भए पनि शिक्षण सिकाइ राम्रो हुने हुँदा आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उहाँको भनाइ छ । विद्यालयको वातावरणसमेत पढ्नका लागि निकै अनुकल रहेको सुनाउँदै परियारले यसभन्दा माथिल्लो कक्षा पनि यहीँबाटै उत्तीर्ण गर्ने बताउनुहुन्छ । बागलुङ नगरपालिकाले आगमी पौस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न थालेको छ । त्यसअघि नै यस विद्यालय बालमैत्री बनिसकेको छ । विद्यालयमा पढाइ राम्रो हुने हुँदा अन्य जिल्ला र पालिकाबाट अभिभावकले कोठा भाडामा लिएर आफ्ना छोराछोरीसमेत पढाउने गरेका छन् । 

भक्तपुर:   विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य  नभएको बताउनुभएको छ ।  आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र ख्वपः अस्पतालको निरीक्षणपछि नगरपालिकाले आयोजित अन्तरक्रियामा उहाँले विश्वविद्यालयमा उक्त कुरा बताउनुभएको हो ।        भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै उहाँले ख्वपः विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको बताउनुभयो ।  मन्त्री भट्टराईले ख्वपः विश्वविद्यालयको विधेयक पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको भन्दै ख्वपः विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताउनुभयो ।      कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने बताउँदै ख्वपः विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा स्थापना गरी देशभरिका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।           भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वपः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न सल्लाघारीस्थित एक सय आठ रोपनी जग्गा प्राप्तिका लागि नेपाल ट्रष्ट समक्ष पटक–पटक पत्राचार गरिसकेको बताउँदै ख्वपः विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।           मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालय, ख्वपः कलेज, शारदा क्याम्पस मावि, ख्वपः कलेज अफ ल, ख्वपः अस्पताल, ख्वपः बहुप्राविधिक अध्ययन संस्थान, ख्वपः इञ्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इञ्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरुबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी सङ्ख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभएको थियो ।       मन्त्री भट्टराईलाई सचिव सुवालले पार्टीका प्रकाशनहरु, नगरप्रमुख प्रजापतिले नपाका प्रकाशन र कलेजका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो ।  

दमौली:   तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी विश्व बुढा परियार उमेरले  ४४ वर्ष पुगे । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाण उनले अहिले पेश गर्दैछन् ।      विद्यालय छाडेको २५ वर्षपछि पुन: विद्यालय भर्ना भएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका बुढाले हालै मात्र कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा भर्ना भएका छन्  । गत साउनमा कक्षा १२ मा २.९ जिपिए प्राप्त गरी उत्तीर्ण भएका बुढा मङ्सिर महिनामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना भए ।      शिक्षा सङ्कायतर्फ अध्ययनरत उनले अरु विषयमा समस्या नभएपनि अङ्ग्रेजीमा केही समस्या बेहोर्नुपरेको बताए । उनले भने, “राम्रोसँग अध्ययन गरेर अङ्ग्रेजीमा पनि केही सुधार हुनेमा आशावादी छ ।”      पढाइलाई उच्च प्राथमिकता दिँदै बुढा दुई वर्ष अगाडि दमौलीस्थित बाल मन्दिर माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका थिए । व्यास–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाई छाडेका बूढाले सोही विद्यालयमा पुन: भर्ना भई एसइई उत्तीर्ण गरेका थिए ।      परियारका छोराछोरी बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा शिवशङ्कर बूढा परियार हाल कक्षा ८ मा अध्ययनरत छन् । छोरी पूर्णिमा परियार कक्षा ६ अध्ययनरत छन् ।     छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लागेको सम्झिदै उनले विगत सुनाए, “त्यतिबेला हामी सबै एउटै विद्यालयमा पढ्थ्यौ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्थ्यो ।”       नेपाल कराँते सङ्घ गोजो इकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयंसेवक प्रशिक्षकलाई अन्तरवार्ता दिन गएका थिए । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भनेपनि उनी छनोट भएनन् । त्यही बेला उहाँलाई एसएलसी उत्तीर्ण नगरेकामा हिनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो ।       केशवटार माविका तत्कालिन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियारले सुनाए ।   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित सङ्घ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराँते सङ्घ गोजो इकाईको प्रमुख प्रशिक्षक समेत रहेका परियारको पिएचडी गर्ने लक्ष्य छ ।

भक्तपुर:    यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो ।           यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ ।           संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्ने हुन्छ । विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उहाँले बताउनुभयो ।  विद्यार्थीले यस्तो यो अवसर तीन वर्षसम्म पाउनेछन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुँदैछ ।

रामेछाप:    गोकुलगङ्गा गाउँपालिकाको  शैक्षिक  अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सयोगमा गोकुलगङ्गा गाउँपालिकाले पालिकाका ३३ विद्यालयलाई सहभागी गराएर प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको हो ।  मेलामा बालबालिकाद्वारा निर्माण गरिएका शिक्षण सिकाइ क्रियाकलापअन्तर्गतका सामग्री र परम्परागत सामग्री (ढिकी, जाँतो, ओखल, मुसल) लगायत सामग्री प्रदर्शनीमा राखिएका थिए ।    कार्यक्रमका अवसरमा जङ्कफुड (पत्रु खाना) खान नहुने, नियमित स्वास्थ्यको ख्याल राख्नुपर्ने, आफ्ना बालबालिकाले गृहकार्य गरे÷नगरेको अभिभावकले नियमति अनुगमन गर्नुपर्नेलगायत सन्देश दिने खालका दोहोरी गीत तथा नाटक प्रदर्शन गरिएको थियो ।      एकअर्को विद्यालयलाई अन्तरघुलन गराई प्रारम्भिक शिक्षण सिकाइ क्रियाकलापलाई वृद्धि गर्दै पालिकाको शैक्षिक अवस्था सुधार गर्न कार्यक्रम अयोजना गरिएको गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले बताउनुभयो ।   यस्ता सिकाइ मेलाले आफूहरूजस्ता विद्यार्थीलाई स्थानीयस्तरमा भएका सामग्री र सीप कसरी प्रयोग गर्ने भन्ने जानकारी हुने तथा अन्तरविद्यालयको सीप एकअर्काले आदानप्रदान गर्दा विद्यार्थी साथीबीच सद्भाव कायम हुने कार्यक्रममा सहभागी शारदा मावि कक्षा १२ की छात्रा प्रियङ्का रेग्मीले बताउनुभयो ।  यस्ता गतिविधले आफूजस्ता विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन मद्दत पुग्ने गोकुलगङ्गा माविमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी सचिन भण्डारीले बताउनुभयो ।            गोकुलगङ्गा गाउँपालिकामा २०७८ सालदेखि सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजनामार्फत बालबालिकाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दैआएको छ ।       स्थानीयस्तरमा शिक्षकले निर्माण गरिरहनुभएको शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको सेतो गुराँस राष्ट्रिय बाल विकास केन्द्रले जनाएको छ । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजना प्रमुख कर्ण दराईले बताउनुभयो ।      प्रारम्भिक तहका बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन र जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले गाउँपालिकाले सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोगमा यस्तो कार्यक्रम आयोजना गरेको गाउँपालिकाका शिक्षा अधिकृत नरेन्द्रसिं भण्डारीले बताउनुभयो ।  रामेछापमा गुणस्तरीय भवन भए पनि विद्यार्थी र शिक्षाको गुणस्तर खस्कँदै गइरहेकाले घट्दै गएको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न यस्ता कार्यक्रम विभिन्न पालिकाले गर्न सके शैक्षिक गुणस्तर वृद्धि हुने गाउँपालिकाका प्रवक्ता चन्द्र सुनुवारले बताउनुभयो ।

काठमाडौँ:  त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ ।   समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।   समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिनुभयो ।   उहाँका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ ।   समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजाार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ ।   उहाँले प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो ।

लुम्बिनी:    लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् ।  विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित हुनुभएको हो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो ।  ललितपुरमा जन्मनुभएका ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।   

गलकोट:    विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।  नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएकोे छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ ।       नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।       शर्माले विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको बताउनुभयो । तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन् । चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ ।       बन्द हुने विद्यालयमा जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् । जसमध्ये सर्वोदय प्रावि र टारा ज्योति प्रावि छिस्तीमा विद्यार्थी सङ्ख्या शून्य थियो । अन्य तीन विद्यालयमा विद्यार्थी सङ्ख्या चारजना भन्दा कम भएपछि विद्यालय बन्द गरी समायोजन गरिएको हो ।       “विद्यालय बन्द हुँदा मारमा परेका टाढाका विद्यार्थीलाई आवासीय सुविधासहित ‘लिड’ विद्यालयको अवधारणा ल्याएका छौँ”, उपप्रमुख शर्माले भन्नुभयो, “आवासीय सुविधासहित एकै स्थानमा पढाउँदा शैक्षिक गुणस्तर वृद्धि हुन्छ र लगानी खेर जाँदैन ।”       शिक्षा समितिको सिफारिसमा पाँच प्राथमिक विद्यालयलाई आगामी वर्ष समायोजन गर्ने गरी एकजना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले जानकारी दिनुभयो । एक शिक्षकको मात्रै दरबन्दी कायम गरिएको विद्यालयमा जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्यज्योति प्राथमिक विद्यालय दमेक र शङ्कर प्रावि राङ्खानी रहेका छन् ।       बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको जनाएको छ ।  विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका–५ बिनामारेस्थित सर्वोदय जनक माविलाई अगुवा ९लिड० विद्यालयका रुपमा अगाडि बढाएको छ । 

बलेवा:    धौलागिरि बहुमुखी क्याम्पसमा बिबिए तहमा अध्ययनरत छात्र लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् ।  क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिबिए तहमा  गौतमले गण्डकी प्रदेशमा सर्वोत्कृष्ट नतिजा  ल्याएको जानकारी  दिए । गत वर्ष पनि सोही तहमा क्याम्पसकै छात्रा प्रतीक्षा गौतमले देशभरमै प्रथम भएकी थिइन् ।  हरेक सेमेस्टरमा उनीहरु उत्कृष्ट भएका छन् भने लगातार शतप्रतिशत परीक्षाफल निकाल्ने क्याम्पस सफल भएको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । गतवर्ष क्याम्पसले गुणस्तर सुनिश्चित प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको थियो ।  यो प्रमाणपत्रले आवश्यकताका आधारमा सङ्काय थप गर्ने अधिकार क्याम्पसले पाएको छ । तर त्यस बाहेक थपिएका पछिल्ला सङ्कायमा विज्ञान र बिबिए तहमा नतिजा राम्रो निकालेको छ ।   क्याम्पसले पछिल्लो समय कूल प्राध्यापकमध्ये ५० प्रतिशत स्थायी गरेको छ भने स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आन्तरिक परीक्षा प्रणाली समेत सञ्चालन गर्दै आएको छ ।  यस्ता कामले गुणस्तर बढाउने अभियानमा थप मद्दत पुगेको स्ववियु सभापति सुदीप सागर कँडेलले बताउनुभयो । पुस्तकालय, प्रयोगशाला र प्रविधिमैत्री पढाइको सूचक भएकाले क्यामपस अब्बल बन्दै गएको छ ।  पछिल्लो तीन वर्षदेखि त यहाँको विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायका विद्यार्थीले अनुसन्धानका काम गरिरहेका छन् । क्युएएका लागि अनुसन्धानमूलक कार्यक्रमलाई अनिवार्य बनाइएको छ ।  विद्यार्थी तहमा पनि अनुसन्धानको काम भएका छन् । कृषि, व्यवसाय, उद्योग र बजारबारे समेत विद्यार्थीले अनुसन्धान गरेका छन् । क्याम्पस प्रमुख उपाध्यायका अनुसार पछिल्लो तीन वर्षमा आयोगले तोकेका एकसय आठ सूचक पुराएर क्याम्पसले क्युएए पाएको थियो भने निरन्तर उत्कृष्ट परीक्षाफल पनि आइरहेको हो । हाल यो क्याम्पसमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको क्याम्पसमा अहिले शिक्षा सङ्काय, मानविकी र व्यवस्थापनमा स्नातकोत्तर तहको पढाइ हुन्छ । विज्ञान सङ्कायमा स्नातक र बिबिएतर्फको पनि पढाइ सञ्चालन भइरहेको हो ।