३९ वर्षपछि पोखरामा ‘राष्ट्रिय खेलकुद प्रतियोगिता’, तयारीमा जुट्यो गुरुङ नेतृत्वको टोली
कास्की | साउन ९, २०७९

पोखरा: ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनका लागि गोष्टेघाट पुगेको छ ।
खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले पोखरा १९ स्थित गोष्टेघाट खेलमैदानको स्थलगत अवलोकन गरेको हो ।
पोखरा महानगरपालिका १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारी, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरे । सो अवसरमा बोल्दै खेलस्थल व्यवस्थापन समितिका संयोजक गुरुङले उक्त मैदान हक्की र महिला फुटबलको लागि उपयुक्त हुने प्रतिक्रिया दिए ।
संयोजक गुरुङले आगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘यही १५ गते बोर्डको मिटिङ छ । त्यसमा धेरै कुराहरु प्रष्ट हुन्छ । अहिले हामीले प्रारम्भिक रुपमा खेलमैदानहरु हेरिरहेका छौं । त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । यो मैदानमा हक्की वा महिना फुटबलको सम्भावना छ ।’ गुरुङले भने ।
उनले ३७ खेल मध्ये २ खेल काठमाडौं हुने बताउदै ३५ खेल गण्डकी प्रदेशमै आयोजना गरिने जानकारी दिए । उनका अनुसार पूर्वाधारका कारणले सुटिङ र स्विमिङ काठमाडौंमा सञ्चालन गरिनेछ ।
गुरुङले सम्भवभएसम्म गण्डकी प्रदेशको ११ वटै जिल्लामा प्रतियोगिता आयोजना गरिने बताए । ‘पूर्वाधारहरु के कस्तो छ । त्यो हेरेर हामीले खेल खेलाउने हो । भन्न त सम्भव भएसम्म सबै जिल्लामा खेलाउने भनेका छौं तर यातायात र अन्य कारणले गर्दा केही चुनौती छ, उनले भने, ‘त्यसैले प्राय खेलहरु पोखरा र आसपासमै हुन्छ । हामीले यो भन्दा पहिले सहारा एकेडेमी र हेम्जाको गौरीशंकर खेलमैदान हेरिसकेका छौं । कहाँ के उचित हुन्छ । त्यही गर्ने हो ।’
फुटबल प्रतियोगिता गराउने स्थानीयको चाहना
गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले सो मैदान फुटबल प्रतियोगिताको लागि उपयुक्त हुने बताए ।
उनले सरकारी तथा नीजिस्तरबाट करिब ६ करोड लागतमा सो मैदान निर्माण गरिएको बताउदै ७ हजार दर्शक क्षमतासहितको भिआइपी प्यारापिट रहेको बताए । ‘हाम्रो यो ग्राउण्डमा फुटबल प्रतियोगिता गर्न एकदमै उचित छ, उनले भने, ‘त्यसको लागि हामी तपाइहरुसँग समन्वय गर्न तयार छौं ।’
यसैगरि एन्फा कास्कीका सचिवसमेत रहेका गोष्टेघाट खेल मैदान व्यवस्थापन समितिका सचिव बुद्धि खत्रीले उक्त मैदान निर्माणको काम अन्तिम चरणमा रहेको बताए ।
उनका अुनसार भिआइपी प्यारापिट तथा चेन्जिङ भवनको संरचना खडा गरिएको छ । ‘संरचनाहरु सबै बनिसकेको छ । मैदान पनि अन्र्तराष्ट्रिय मापडण्ड अनुसार नै बनाएका छौ र यसमा ७ हजार दर्शकको क्ष्मता रहेको छ, उनले भने, ‘अब फिनिसिङको काम मात्रै बाँकी छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुटबल यहाँ खेलाउने हो भने हामी समन्वय गर्न तयार नै छौं ।’
उनले फुटबल खेल आयोजना गर्ने उद्देश्यसहित निर्माण गरिएको मैदानमा फुटबल नै आयोजना गर्ने स्थानीको इच्छा रहेको बताए । ‘यो मैदान फुटबल खेलाउनकै लागि भनेर बनाइएको हो, उनले भने, ‘त्यसैले स्थानीयको पनि यहाँ नवौं राष्ट्रिय प्रतियोगिताको फुटबल नै होस् भन्ने चाहना छ ।’
खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे्र गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ ।
यद्यपी सम्भाव्यता अध्ययन गरेपनि कुन मैदानमा कुन खेल आयोजना गर्ने भन्ने आधिकारिक निर्णय भने आगामी १५ गते हुने बैठकपश्चात हुने बताइएको छ ।
आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७ खेल मध्ये २ काठमाडौं र बाँकी ३५ खेल पोखरामा सञ्चालन गर्ने लक्ष्यसहित विभिन्न उपसमिति तयारीमा लागिरहेको छ ।
काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...
पोखरा: गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...