धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
धादिङ | मंसिर २५, २०८१

धादिङ: यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ ।
“राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ ”, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भन्नुभयो, “पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बासबसी भाकल गर्नुभएको र त्यसपछि विजय भएको किम्वदन्ती छ ।”
पूजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए । जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार ७ सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउने गरेको छ ।
यस मन्दिरमा पूजासहित वडादसैँ र चैते दसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा छ । वडादसैँको नवमीका दिन यहाँ सुङ्गुर बलि गरिन्छ । मन्दिर पुग्न सदरमुकामबाट १८ किलोमिटर पार गर्नुपर्छ ।
भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताउनुभयो ।
“भूकम्पले जीर्ण मन्दिर पुनःनिर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँबाट चारैतिर हिमशृङ्खला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्”, उहाँले भन्नुभयो ।
यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पूजारी भगवान राना मगरले जानकारी दिनुभयो । जिल्लाका विभिन्न सङ्घ संस्थाले भैरवी मन्दिर सम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचारप्रसार भएको छ ।
नीलकण्ठ नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचारप्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताउनुभयो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...