बेसहाराका लागि प्रहरी अस्पतालसँग सम्झौता
काठमाडाैं | साउन १०, २०७९
काठमाडौँ: नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ ।सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ ।सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरीक्त महानिरीक्षक डा आशा सिंह र आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता पश्चात् अस्पतालले विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत आश्रमको संरक्षणमा रहेका व्यक्तिलाई तीन शैय्या उपलब्ध गराउने भएको छ । उक्त सम्झौतापछि अब बेसहारा नागरिकलेसमेत निःशुल्क रुपमा उपचार प्राप्त गर्न सक्ने छन् ।साथै अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्ना भइसकेपश्चात् औषधिलगायत सामग्री निःशुल्क उपलब्ध गराइने भएको छ । मेडिकल डाइरेक्टर सिंहले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
“जीवनरक्षाका लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिको जीवन पनि बचाउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो । आगामी दिनमा उक्त आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु ।,” उहाँले थप्नुभयो ।
अस्पतालसँगको सहकार्यले यस आश्रमको काममा सहजता हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । “सडकपेटीबाट उद्धार गरिएका व्यक्ति विभिन्न क्यान्सर, एचआइभी एड्स, हेपाटाइटिस, मिर्गौलाले काम नगर्नेजस्ता रोग लागेका व्यक्ति छन् । अस्पतालको साथले हामीमा थप हौसला बढेको छ,” उहाँले भन्नुभयो, “यो सम्झौता एक वर्षका लागि रहेको र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने छ ।”आश्रमले हाल सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा शाखा स्थापना गरी सहयोगापेक्षी सडकआश्रित व्यक्तिको उद्धार एवं संरक्षण गरिरहेको छ । अहिले आश्रमको संरक्षणमा करिब एक हजार ५०० आश्रित छन् भने संस्थाको स्थापनादेखि १० वर्षको अवधिसम्म आइपुग्दा सातहजार २०० बढीको उद्धार भइसकेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

