तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
तेह्रथुम | पुस ८, २०८१

तेह्रथुम: तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ ।म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो ।
सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो ।तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फे को भनाइ छ ।
पुल जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको सांसद सीता गुरुङले बताउनुभयो ।
गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको उहाँको भनाइ छ ।
सबै पक्षको सहयोग रहे आउने असारसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताउनुभयो ।
पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् ।
पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङबाट १९ किलोमिटरको दूरी रहेको तमोर नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकलाई आवातजावतमा सहज हुने म्याङलुङ–२ का विश्वराज तुम्बाहाङफेले बताउनुभयो ।
पाँचथरको कुम्मायक गाउँपालिकाका भुल्के, खाल्ले, स्यावरुम्बालगायतका गाउँबाट करिब आठ घण्टाको पैदलयात्रा गरी हप्तैपिच्छे पिठ्यूँमा बोकेर कृषिउपज तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटियामा बिक्री गर्न ल्याउनुपर्ने बाध्यता छ ।
पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तेह्रथुमबाट पूर्वी तराईसँगको दूरी घटाउने भएकाले पनि उक्त मोटरेबल पुल निर्माणले महत्व राख्ने जनाइएको छ ।
पोखरा: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्की...
भरतपुर: सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज (शनिबार) बिहान इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो । ...
काठमाडौं: सङ्खुवासभा जिल्लाको माघाङ्ग वरपर केन्द्रबिन्दु भएको स्थानीय मापन अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ः१५ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क/डिए...