तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित

इलाम | पुस १८, २०८१

तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित

इलाम:   इलामको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । 

    
रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो । 


“अहिले पालिकाले सुकाएर करेलाको ब्रान्डिङ सुरु गरेको छ । बजारको चिन्ता केही नभएपछि व्यावसायिक उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

    
अर्यालले यसवर्ष पाखाबारीमा करेलाको एक हजार बिरुवा रोपेको जानकारी दिनुभयो । “तरकारीका रूपमा बिक्री नभए पनि स्थानीय सरकारले किनिदिने भएपछि ढुक्कसँग खेती थालेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै वडाका अधिकांश किसान यो खेतीतर्फ आकर्षित भएका छन् ।

    
गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । “यस वर्ष बिक्रीका लागि दुई सय किलो सुख्खा तितेकरेला तयार छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भन्नुभयो, “यहाँका अधिकांश किसानले व्यावसायिक खेती सुरु गर्नुभएकाले अर्को वर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भइरहेको छ ।”

    
गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।  करेलाको अध्ययन, अनुसन्धान गर्दा सफल भएपछि पालिकाले बजारीकरण थालेको उहाँको भनाइ छ । 

    
तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच(१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् । 

    
रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३ प्यूरेका लल्मी लाप्चाले बताउनुभयो । 

    
गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उहाँको भनाइ छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्