पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ: मन्त्री पाण्डे

काठमाडाैं | पुस १८, २०८१

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ: मन्त्री पाण्डे

काठमाडौं:     संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताउनुभएको छ । 


प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।


मन्त्री पाण्डेले भन्नुभयो,“पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि वृहत् रूपमा छलफलका लागि भेला गर्दै छौँ, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकाय त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन ।”


उहाँले  पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराउनुभयो । मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारबाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको समितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गर्नुभयो ।


समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले निजगढ अन्तर्रास्ट्रिय विमानस्थलको विकल्पमा अरू विकल्प हुन नसक्ने भन्दै निर्माणका लागि लगानी कर्ता खोज्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ एयरपोर्टको विकल्प निजगढ मात्रै हो,  पहिलो प्राथमिकता दिईयोस्, ट्रान्जिटको भूमिका पनि देखिन्छ ।”

 

पूर्व प्रधानमन्त्री नेपालले कुनै पनि परियोजना बनाउने कुरामा हचुवाको भरमा नभइ कहाँ आवश्यक छ कहाँ छैन कुनै हिसाबकिताब गरेर मात्र गर्नुपर्ने बताउनुभयो  । पर्यटकलाई आकर्षित गर्न गन्तव्य ठाउँ सफा सुग्घर बनाउनुपर्ने  उहाँको भनाइ थियो ।


सांसद प्रभू साहले निजगढ एयरपोर्टमा चासो नपुगेको  र मन्त्रालयको प्राथमिकतामा किन नपरेको भनी प्रश्न गर्नुभयो । साथै उहाँले पुरातात्विक क्षेत्रमा उत्खननका नाममा दुरूपयोग भइरहेको बताउँदै मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभयो ।


सांसद धवल शमशेर जबराले पर्यटन क्षेत्रमा स्थानीय तहलाई जिम्मेवार बनाउने कार्य राम्रो भनी प्रशंसा गर्नुभयो । उहाँले मुलुकमा आउने पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो ।

 

सांसद भीमप्रसाद आचार्यले  नेपालको आफ्नो हवाई जहाज नहुँदा ६० प्रतिशत पर्यटक विदेशी कम्पनीले लिने गरेको बताउनुभयो । भैरहवा र पोखरा विमानस्थल चलाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले यसका लागि ,दुई छिमेकीमुलुकसँग छलफल हुन जरूरी रहेको बताउनुभयो ।


सांसद सुदन किरातीले पशुपति धर्मशालाको निर्णयको पुनःअधययन गर्ने निर्णय किन गरेको हो भनी मन्त्रीसँग प्रश्न गर्नुभयो । उहाँले निजगढ विमानस्थल विस्तृत अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै नभए विमानस्थल घाम तापेर बस्नुपर्ने अवस्था आउनसक्छ भन्नुभयो । 


सांसद सुनिता बरालले पर्यटन क्षेत्रमा भूकम्पपछि क्षति भएका सम्पदा कति सम्पन्न भए कति हुन बाँकी छन् जानकारी गराउन माग गर्नुभयो । सांसद प्रेम सुवालले मन्त्रालयको बेरूजु किन फछर्यौट हुन सकेको भनी प्रश्न गर्नुभयो । 


सांसद शिशिर खनालले हवाई क्षेत्रमा नियमाक निकाय र सेवा प्रदायक निकाय छुट्याउने विषयमा प्रगति राम्रो भएको उल्लेख गर्नुभयो । सांसद योगेश गौचन थकालीले नेपालमा पर्यटन क्षेत्रमा रहेका झन्झटिला प्रक्रियालाई सरलीकरण बनाउनुपर्ने  बताउनुभयो ।

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्

दैलेख:  भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...

थप पढ्नुहोस्