सबै निकाय र राजनीतिक दलले सूचना हक कार्यान्वयन गर्नुपर्नेमा सभामुख घिमिरेको जोड
काठमाडाैं | पुस २८, २०८१
तस्बिर फाइल
काठमाडौं: सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को व्यावहारिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सूचना आयोगले यहाँ आज आयोजना गरेको ‘राजनीतिक दलमा सूचनाको हकसम्बन्धी कानुनको अभ्यास’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक पार्टीले लोकतन्त्रलाई बलियो बनाउन र जनताको विश्वास जित्न पारदर्शी बन्दै सो ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
प्रत्येक तीन÷तीन महिनामा सार्वजजिक निकायले सरोकार भएका सबै सूचना अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने तथा कार्यालयमा रहेका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले “प्रत्येक सावर्जनिक निकायले आमनागरिकको सूचना पाउने मौलिक हकको सम्मान गर्दै सूचना प्रवाह गर्नु पर्दछ”, भनेको छ ।
सभामुख घिमिरेले भन्नुभयो, “हामीले सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि वा घोषणापत्रमा नेपाल पक्ष भएर सहमति गरेका छौँ, साथै वर्तमान संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरी प्रत्येक नागरिकले आफूलाई चाहिएको वा सरोकार भएका सूचना माग्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।”
सभामुख घिमिरेले लोकतान्त्रिक संसदीय प्रणालीभित्र राजनीतिक दलहरूको भूमिका सबैभन्दा माथि रहने जनाउँदै उहाँले दलहरू पारदर्शी, वस्तुनिष्ठ र जनताकेन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो । संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताउँदै उहाँले संसदीय प्रणालीलाई बलियो बनाउन सूचनाको हकलाई सबैले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कांग्रेसले लोकतान्त्रिक सिद्धान्तलाई पालना गर्दै सूचनाको हकसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले लोकतन्त्र बलियो भए देश बलियो हुने बताउँदै लोकतन्त्रको प्रमुख आधार सूचनाको हक रहेको उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हकसम्बन्धी ऐन र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै आफ्नो पार्टीले पारदर्शी ढङ्गबाट जनतालाई हरेक सूचना प्रवाह गरिरहेको दाबी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले लोकतन्त्रको आधार पारदर्शीता र सूचनाको हक रहेकाले यसलाई व्यावहारिक रूपमा सबै निकायले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रका मूल्य, मान्यतालाई पालना गर्दै पार्टीले आमनागरिकलाई पारदर्शी ढङ्गबाट सूचना प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

