मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
म्याग्दी | पुस २९, २०८१
म्याग्दी: संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुन् ।
यो मुस्ताङको सदरमुकाम जोमसोम बजार अवस्थित घरपझोङ गाउँपालिका–५ मा रहेको छ । वौद्ध परम्पराको प्रवेश हुनुअघि अस्तित्वमा रहेको ‘शे–रिव’ नामको स्थानीय राज्यको केन्द्र ठिनी नजिकैको गारावजोङ (घरपझोङ) किल्ला मुस्ताङको ऐतिहासिकस्थल हो ।
किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउने गरेको मुस्ताङ जिल्लाको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ । किल्लामा भवन र घरका भग्नावशेष अझै छन् । सोही किल्ला भएको ठाउँमा पहिले मानव बस्ती थियो । डाँडामा रहेको उक्त बस्ती सरेर थाक पाँच गाउँको रूपमा स्याङ, ठिनी, मार्फा, छैरो र चिमाङ बनेको जोमसोमका अगुवा चन्द्रबहादुर थकालीले बताउनभयो ।
आठौँ शताब्दीमा निर्माण भएका भौतिक संरचनाका घरपझोङ किल्लाको इतिहासको साक्षीका रूपमा रहेका छन् । यही ऐतिहासिक महत्त्व बोकेको क्षेत्रको नामबाट घरपझोङ गाउँपालिका नामाकरण भएको हो ।
ठिनीका बासिन्दा राजेन्द्र थकालीले माटोले बनेका ऐतिहासिक संरचना भत्किएर नासिँदै गएका बताउनुभयो । संरक्षणको ठोस योजना र काम हुन नसकेको उहाँले चिन्ता व्यक्त गर्नुभयो । माटोले बनेका घरका पर्खालका अवशेष मात्र भेटिन्छन् । जीर्ण भएका संरचना संरक्षण गर्न सकेमा भावी पुस्तालाई इतिहासका रूपमा बुझाउन र पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना छ ।
ठिनी गाउँदेखि सवारी साधनमा पाँच मिनेटमा पुगिने ठिनीखोलादेखि थप १० मिनेट उकालो पैदलयात्रा गरेर पुगिने घरपझोङमा धुम्बा तालतर्फबाट जाने सडक र पैदलमार्ग पनि छ । घरपझोङ गाउँपालिकाले ठिनीखोलाबाट किल्लासम्म पुग्ने पदमार्ग र सडक बनाएको छ । स्थानीयवासीले घरपझोङ किल्लामा सानो गुम्बा पनि बनाएका छन् ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले घरपझोङ किल्लाको संरक्षण, पूर्वाधार निर्माण र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गुरूयोजना निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रू दश लाख विनियोजन गरेको जानकारी दिनुभयो ।
अग्लो स्थानमा रहेको घरपझोङ किल्लाबाट जोमसोम, ठिनी, स्याङ, मार्फा गाउँको बस्ती, धुम्बाताल, नागबेली परेर बगेको कालीगण्डकी, ठिनीखोला, निलगिरि र धौलागिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।
जोमसोम बजार, मातृचक्र, काठै काठले बनेको झोलुङ्गे पुुल, ठिनी, याझरू भ्यु पोइन्ट, हिउँ चितुुवा गुुफा, घरपझोङ किल्ला, क्षमाताल, धुम्बा ताल, कुुछपतेरङगा गुम्बालगायतका धार्मिक, ऐतिहासिक र प्राकृतिकस्थललाई जोमसोमको सहायक गन्तव्य बनाउने र मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउने योजना रहेको अध्यक्ष लालचनले बताउनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

