पर्साको जंगलमा युवतीको जलाइएको शव फेला :आमा पक्राउ, अन्य सदस्य फरार
पर्सा | साउन १३, २०७९

वीरगन्ज ः पर्सा प्रहरीले जंगलमा एक युवतीको शव जलाएको अवस्थामा फेला पारेको छ। पर्साको जिराभवानी गाउँपालिका १, भवानीपुरका खेमराज दासकी छोरी २० वर्षीया सीमा कुमारीको शव गाउँ नजिकैको जंगलमा जलाएको अवस्थामा प्रहरीले फेला पारेको हो।
प्रहरीले मृतककी आमालाई नियन्त्रणमा लिएको छ। उनका बुबा खेमराजसहित परिवारका अन्य सदस्य फरार भएका छन्।
माँ जगदम्बा सामुदायिक वनमा परिवारका सदस्यले बुधबार राति युवतीलाई जलाएको सूचना बिहीबार बिहान प्रहरीलाई गाउँलेले दिएपछि प्रहरी घटनास्थलमा गएको प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले बताए।
त्यही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली शव जलाएको स्थानमा पुगेको थियो। घटनास्थलबाट जलिसकेको शवका अवशेषहरू संकलन गरी पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। मृतककी आमालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूको खोजी भइरहेको कार्कीले बताए।
घटना के हो : मृतक युवतीका छिमेकीका अनुसार सीमा र गाउँकै यादव थरका एक युवकबीच केही समयदेखि प्रेम सम्बन्ध थियो। एक हप्ता पहिले दुवै बिहे गर्नका लागि घर छाडेर भागेका थिए। त्यसपछि युवतीका अभिभावकले सम्झाइबुझाइ गरी सीमालाई घर फर्काएका थिए।
घरमा ल्याएदेखि नै उनीहरूले सीमालाई मानसिक र शारीरिक यातना दिँदै आएका थिए। बुधबार राति सीमालाई उनका अभिभावकले निर्घात कुटपिट पनि गरेको छिमेकीहरूले बताएका छन्।
प्रहरीका अनुसार मृतककी आमाले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेकाले प्रहरीको डरले आफूहरूले कसैलाई थाहा नदिई जंगलमा लगेर शव जलाएको बयान दिएकी छिन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...