देवघाटमा स्नान गर्न घुइँचो:  गैँडाकोटबाट नि:शुल्क डुङ्गाको व्यवस्था

नवलपुर | माघ १, २०८१

देवघाटमा स्नान गर्न घुइँचो:  गैँडाकोटबाट नि:शुल्क डुङ्गाको व्यवस्था

नवलपुर:    हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।  तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । 


नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । 


गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताउनुभयो । 


“नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ”, उहाँले भन्नुभयो, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिन्छ ।” 


कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै उहाँले शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताउनुभयो । 


चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै वडाध्यक्ष तिवारीले नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने बताउनुभयो ।


गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।


कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै उहाँले बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको बताउनुभयो ।

 
“माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “तीर्थालुले माघे सङ्क्रान्ति स्नान सहज रूपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।” 


नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा सहज र बाटोसमेत छोटो पर्ने उहाँले बताउनुभयो ।


चितवनतर्फबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भन्दै वडाध्यक्ष तिवारीले नवपुरतर्फबाट करिब पाँच किलोमिटरमा देवघाट पुग्न सकिने बताउनुभयो । 


“धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा छैन, गैँडाकोटबाटै सहज र छिटो देवघाटको बेनी पुगिन्छ भनेर प्रचारप्रसार गर्न हामीले पहल गरेर निःशुल्क डुङ्गाको व्यवस्था गरेका हौँ”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिइँदैन ।” 


नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गर्नुभयो । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रह...

थप पढ्नुहोस्

पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश/कास्की जिल्ला/माछापुुच्छ«े गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी आज कास्कीको माछापुुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम क...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र ...

थप पढ्नुहोस्