गण्डकी: नवौँ राष्ट्रिय खेलकुदमा कुन खेल कहाँ ?

कास्की | बैशाख १४, २०७९

गण्डकी: नवौँ राष्ट्रिय खेलकुदमा कुन खेल कहाँ ?

पोखरा: 

सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

 

अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ । गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ ।

 

आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ ।

 

प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । “सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रस्ताव पठाएका छौँ”, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । 

 

खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुदको रौनक र अपनत्व सबै प्रदेशवासीलाई होस् भनेर सबै जिल्लामा न्यूनतम एक खेल आयोजनाको प्रस्ताव गरिएको उनको भनाइ छ । योगीले भने, “खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षणलगायत पक्षलाई हेरेर प्रस्ताव पठाएका छौँ । केन्द्रको प्राविधिक टोलीले प्रस्तावितस्थलको अनुगमन सुरु गरेको छ ।

 

केही दिनमै प्रस्तावितस्थलमा नै राखेपले खेल सञ्चालनको तालिका बनाउने छ ।” प्रदेशका सबै जिल्लालाई समावेश गरेर खेल आयोजना गर्दा जिल्लामा खेलप्रतिको आकर्षण बढ्ने र खेलाडीको चापलाई व्यवस्थित गर्न सकिने छ । प्रतियोगिताको तयारी र पूर्वाधारका बारेमा जानकारी लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतको टोली आज पोखरा आउने समितिले जनाएको छ ।

 

कुन खेल कहाँ ?

राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन हुनेछन् ।

 

यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ ।

 

बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ ।

 

यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपबाट रु १६ करोड बजेट विनियोजन गरिएको छ ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्