निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाई

बाग्लुङ | चैत १, २०८१

निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाई

ढोरपाटन:  बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । 


गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।


अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 


उहाँका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।

 
पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्यालयमा नेपाली भाषमा पढाइ हुने उहाँले बताउनुभयो । अहिले कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू गरेको भन्दै शैक्षिकसत्र २०८२ मा कक्षा २ र ३ मा पनि पठनपाठन गराउने शाखा प्रमुख न्यौपाने बताउनुहुन्छ । सोहीअनुसार पाठ्यपुस्त छपाइको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।


न्यौपानेले भन्नुभयो, “निसीखोलामा विभिन्न जातजातिका बसाइ छ, यहाँ खासगरी वडा नं ५ र ६ मा मगर खाम भाषा बोल्ने गर्नुहुन्छ, अन्य वडामा त्यो भाषा बोल्नुहुन्छ, अहिले हामीले लागू गरेको पाठ्यपुस्तकको विषयवस्तु सबै एउटै हो, वडा नं १, २, ३, ४ र ५ का बालबालिकाले नेपालीमै पढ्छन् भने दुईवटा वडाका विद्यार्थीले मगर खाम भाषामा पढ्छन् ।”


न्यौपानेले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तक प्रत्येक वर्ष छपाइ गर्ने र लागू गर्दै जाने बताउनुभयो । खाम भाषाको पुस्तक तयार गर्न मगर प्रतिष्ठानबाट चार जना र स्थानीय सात जना विज्ञ परिचालन गरेको उहाँको भनाइ छ । पाठ्यपुस्तक तयार गर्न केही अप्ठ्यारो परेको न्यौपानेले सुनाउनुभयो ।


पाठ्यपुस्तकमा निसीखोलाको जनजीवन, पर्यटन, परम्परा, संस्कृति, कृषि, पशुपालनलगायत विषयवस्तु समावेश गरिएको छ । 


निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषा सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालेको बताउनुभयो । 


पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि खाम भाषा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँपालिकाले भाषा संरक्षणका लागि विज्ञसमेत खटाएर पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन थालेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्