मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान
मोरङ | चैत १, २०८१
सांकेतिक तस्वीर
मोरङ: लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो ।
४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन जानुभएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते हुनुभयो ।
भागेर ज्यान जोगाउन सफल हुनुभएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताउनुभयो ।
डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्युु भइसकेको छ । यसअवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो ।
जसमध्ये चार वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई वटा, गोली हानेर एउटा वटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।
गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ ।
“हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ”, बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र बताउनुहुन्छ ।
दिउँसो जङ्गलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रले बताउनुभयो । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
जङ्गली हात्ती मानवबस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक समुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि वन क्षेत्रमा करिव १५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

