पर्यटक पर्खिरहेको तनहुँको गिरानचौर

तनहुँ | चैत ७, २०८१

पर्यटक पर्खिरहेको तनहुँको गिरानचौर

दमौली:   पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर ।

 

ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ ।

 

गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन् । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय नमूना गाउँ घोषणा गरेपछि स्थानीयवासी यस ठाउँमा पर्यटक भित्र्याउन लागिपरेका हुन् ।

 

गाउँपालिकाको सहयोग र प्रेरणाले आफूहरु यस ठाउँमा घरबास सञ्चालन गर्ने प्रयासमा जुटेको स्थानीय ओममाया गुरुङले बताए । उनले भने, “गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हामीलाई यस ठाउँमा होमस्टे सञ्चालनका लागि उत्प्रेरित गर्नुभयो । हामी स्थानीय अहिले यसमा लागेका छौँ ।”

 

उनका अनुसार हाल यस ठाउँमा २० घरमा होमस्टे सञ्चालन गरिएको छ भने यसलाई विस्तार गर्ने लक्ष्य राखिएको छ ।

 

होमस्टे सञ्चालनका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र गाउँपालिकाले नै सिकाएपछि अहिले यसतर्फ अगाडि बढेको उनको भनाइ छ । उनले भने, “गाउँपालिकाका अध्यक्षले सधैँ हामीलाई पैसा कमाउनुप¥यो भन्नुहुन्थ्यो, हामीले कसरी चलाउने, हामीलाई त आउँदैन भन्यौँ । उहाँहरुले सिकाउनुभयो, पाहुना पनि पठाउन थाल्नुभयो ।”

 

केही समय अगाडि मात्रै विद्यालयका एक सय जना शिक्षकहरु यहाँ बास बसेर गएको उनले जानकारी दिए ।

 

त्यस्तै कलाकार भटभटे माइला, बल्छी धु्रवेलगायत नामले परिचित कलाकारहरु समेत यहाँ आइसकेको उहाँको भनाइ छ ।

 

यहाँ आउने पाहुनालाई लोकल कुखुरा, गाउँमै उत्पादित आलुको परिकार, गुन्द्रुक, भट्ट, कोदोको रोटी खुवाउने गरिएको छ । त्यस्तै रातिको समयमा चुड्का नाच प्रस्तुत गर्ने गरिएको उनले जानकारी दिए।

 

पारिवारिक वातावरणको प्रत्याभूति दिने गरी पाहुनाको स्वागत गर्ने गरेको स्थानीय नरेश गुरुङले जानकारी दिए ।

 

आफू डकर्मीको काममा समेत संलग्न रहेको बताउँदै उनले होमस्टे सञ्चालनका लागि आमा र श्रीमतीले सघाइरहेको उल्लेख गरे ।

 

हालसम्म यस ठाउँमा तीन सयभन्दा बढीले रात बिताइसकेका छन् ।

 

आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्न खोजेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए। गुरुङ बस्ती गिरानचौरमा ६० घरधुरी रहेकामा सबै घरमा होमस्टे सञ्चालनको लक्ष्य छ ।

 

उनका अनुसार यस ठाउँलाई पर्यटकीय गाउँ बनाउन रु ४० लाख बजेट विनियोजन गरिएको छ ।

 

उनले भने, “स्थानीयलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य हो ।”

 

कूल छ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा एउटा पर्यटकीय गाउँ बनाउने लक्ष्य राखिएको चुमानको भनाइ छ । उनले भने, “गिरानचौरका घरमा एकैखालको रङ र यहाँ फूलले आकर्षण बढाउने योजना पनि छ । यसका लागि स्थानीयवासीसँग साझेदारी गर्छौं ।”

 

पृथ्वीराजमार्गको बरादीदेखि समस्तीपुरसम्म पक्की र त्यहाँबाट कच्ची बाटो रहेकाले बाटो स्तरोन्नतिको प्रक्रिया थालिएको चुमानले बताए।

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...

थप पढ्नुहोस्

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्