बुद्धका सन्देशलाई फैलाउन जरुरी: पूर्वराष्ट्रपति भण्डारी

रूपन्देही | चैत १५, २०८१

बुद्धका सन्देशलाई फैलाउन जरुरी: पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनी:  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ । 


लुम्बिनीमा आज थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गर्नुभयो ।

    
“गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन बढेको छ ।”

    
लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै उहाँले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    
त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले लुम्बिनीको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    
मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै, त्यसबाहिरका काम नहुनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्नेजस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    
लुम्बिनी विकास गुरुयोजनाअनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् । उहाँले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    
कार्यक्रममा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले बुद्ध जन्मस्थलमा यस खालका गुम्बा निर्माण हुँदा पर्यटकीय गतिविधि बढाउन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले स्थानीय नागरिकसँग पनि सहकार्य गरेर आफ्ना कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।

    
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले यस्ता संरचना निर्माण विकास कोषको गुरुयोजनाअनुरुप नै भएको स्पष्ट पार्नुभयो । उहाँले गुम्बा निर्माण गर्न विकास कोषसँग जग्गाको सम्झौता गरेर ओगटिराख्ने प्रचलनको अन्त्य गर्न विकास कोषले जोड दिएको बताउनुभयो । 

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्