‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती

मुस्ताङ | चैत २४, २०८१

‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती

मुस्ताङ:  उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक विस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय र पर्यटकलाई समस्या भएको छ ।


मुख्यराजमार्ग सडकले जोडिएको लोघेकर दामोदरकुण्ड–१ चराङबाट कालीगण्डकी पारिको लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा त्यस क्षेत्रका नागरिक र पर्यटकलाई बर्खायाममा आवतजावत गर्न सास्ती खेप्नुपरेको छ । 


मुस्ताङको चराङबाट ‘ध्ये’ खोला कटेर ध्ये र ताङ्ग्या गाउँ हुँदै मनाङको नाफु जोड्ने पर्यटकीय पदमार्ग पर्छ । उपल्लो मुस्ताङबाट ध्ये र त्याङ्ग्या हुँदै मनाङ जाने छोटो दूरीको पर्यटकीय पदमार्ग पर्ने भएकाले त्यहाँ पुलको आवश्यकता महसुस गरिएको थियो ।


उत्तरी कोरलापास र दामोेदरकुण्डसहित अन्य शाखा नदीको समिश्रण ‘ध्ये’ खोलामा पुल आवश्यकता धेरै अघिदेखि गरिए पनि हालसम्म त्यहाँ पुल बन्न सकेको छैन । 


गाउँपालिका केन्द्र चराङ र कोरला सडकसँग ध्येगाउँ र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी ‘ध्ये’ खोलामा पुल नहुँदा समस्या भएको लोघेकर दामोदरकुण्ड–५ का वडाध्यक्ष पासाङ गुरुङले जानकारी दिनुभयो । ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आवतजावत गर्न समस्या हुने गरेको छ ।


“बर्खायाममा त कालीगण्डकी ध्येखोलाको बाहव उच्च हुन्छ, खोला तरेर वारिपारि गर्न सकिँदैन”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “बर्खायामको तीन–चार महिना त हाम्रो गाउँमा पूरै नाकाबन्दी लगाएजस्तै हुन्छ, पुल नहुँदा यताउता जान पनि मिल्दैन ।”


भौगालिक रुपले विकट ध्ये र ताङ्ग्या गाउँमा उत्पादन हुने कृषि उपज र पशुपालनको बजारीकरण गर्नमा समेत पुल नहुँदा समस्या पर्ने गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । “बर्खायाममा खोला ठूलो भएर तर्न सकिँदैन”, उहाँले भन्नुभयो, “हिउँदयाममा खोला घटेपछि भने तरेर आवतजावत गर्ने गरेका छाँै ।”


मुख्य राजमार्ग सडकअन्तर्गत पालिकाको केन्द्र चराङबाट एक घण्टा ओरालो झरेर ध्येखोला तरेर केही मिनेट उकालो लागेपछि ध्ये र ताङ्ग्या गाउँमा पुग्न सकिन्छ । यद्यपि यी दुई गाउँमा कच्ची सडकको पहुँच जोडिए पनि ध्येखोलामा पुल नहुँदा समस्या परेको हो । 


त्यस क्षेत्रका नागरिकले बर्खायाममा खाद्यान्न तथा दैनिक उपभोग्य सामान हिउँदयाममा खोलाको सतह घटेपछि मात्रै ढुवानी गरेर मौज्दात राख्ने गरेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।


सङ्घीयतापछि लोघेकर दामोदरकुण्ड–१ र ५ जोड्ने गरी यहाँ पुल बनाउन गाउँपालिकाले पहलकदमी गर्दै आएको थियो । झन्डै ५०० मिटर दूरीमा फैलिएको ध्येखोलामा पुल निर्माणका लागि वैज्ञानिक अध्ययन र सर्भेसमेत भएको थियो । 


दुईवटा सरकारी निकायले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरे पनि सरकारले त्यहाँ पुलका लागि बजेट विनियोजन नगर्दा समस्या भएको हो । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक सरकारले पुल बनाइदेला भन्ने आशमा छन् । 


ध्ये र ताङ्ग्य गाउँ जोड्ने पुल निर्माणका लागि यसअघि पूर्वाधार विकास निर्देशानालयले डिपिआर तयार गरेको थियो । ध्येखोलामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभाग (डोली)ले पनि सर्भे गरेको थियो । 


लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले ध्येखोलामा पुल निर्माण गर्न पटकपटक प्रयास गरिए पनि बन्न नसकेको बताउनुभयो । आवश्यक बजेट अभावले पुल बन्न नसकेको उहाँको भनाइ छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्